काठमाडौं, वैशाख १३ । नेकपा (एमाले) का युवा नेता तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले आफ्नो नाम र तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता पोस्टरहरू प्रचार नगर्न सञ्चारकर्मी तथा सर्वसाधारणलाई अपिल गर्नुभएको छ।
उहाँले प्रतिनिधिसभा बैठक स्थगनपछि हाल इलाममा केन्द्रित रहेर काम गरिरहनुभएको उल्लेख गर्दै सार्वजनिक सरोकारका विषयमा आफूले सधैँ स्पष्ट धारणा राख्दै आएको बताउनुभएको छ। पछिल्ला राजनीतिक घटनाक्रमलाई आफूले दीर्घकालीन प्रभाव र परिणामका आधारमा वस्तुगत रूपमा विश्लेषण गर्दै आएको उहाँको भनाइ छ। ‘पछिल्ला विकसित राजनीतिक घटनाक्रमलाई मैले केवल एउटा घटनाको रूपमा मात्र नभई त्यसले निम्त्याउने दीर्घकालीन परिणाम र दिने सकरात्मक नतिजाको कसीमा राखेर वस्तुगत विश्लेषण गरिरहेको छु, म कुनै पनि घटना वा विषयलाई पूर्वनिर्धारित विचार वा आग्रहका आधारमा होइन त्यसबाट आउने दीर्घकालीन परिणामको कसीमा हेर्छु, तर, विगत केही समयदेखि सामाजिक सञ्जालका विभिन्न पेजहरूमा सुहाङ नेम्वाङको भनाइ भन्दै मेरो तस्बिर प्रयोग गरी भ्रामक पोष्टर र डिजाइनहरू सम्प्रेषण भइरहेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
नेम्वाङले सामाजिक सञ्जालका विभिन्न पेजहरूमा ‘सुहाङ नेम्वाङको भनाइ’ भन्दै आफ्नो तस्बिर प्रयोग गरी भ्रामक डिजाइन र पोस्टर सार्वजनिक भइरहेकाप्रति आपत्ति जनाउनुभयो। “ती सामग्रीमा व्यक्त विचार मेरो व्यक्तिगत वा राजनीतिक दृष्टिकोणसँग मेल खाँदैनन्,” उहाँले स्पष्ट पार्नुभएको छ ।
उहाँले गलत सन्देश प्रवाह हुने गरी तयार पारिएका त्यस्ता सामग्रीहरू पोस्ट वा शेयर नगर्न आग्रह गर्दै जिम्मेवार सञ्चारमाध्यम र सचेत नागरिकहरूलाई त्यस्ता भ्रामक पोस्टका आधारमा धारणा नबनाउन अनुरोध गर्नुभयो। ‘गलत सन्देश प्रवाह हुने गरी सिर्जना गरिएका त्यस्ता अनधिकृत डिजाइनहरू पोस्ट वा शेयर नगरिदिनु हुन म विनम्र अनुरोध गर्दछु’, नेम्वाङकाे अपिल छ ।
उहाँले जिम्मेवार सञ्चारमाध्यमबाट यस्ता गतिविधि नभएको विश्वास व्यक्त गर्दै केही अनलाइन पेज र सामाजिक सञ्जालमार्फत भइरहेका भ्रमपूर्ण सामग्रीप्रति सतर्क रहन सबैलाई आग्रह गर्नुभएको छ। ‘मलाई थाहा छ, कुनै पनि जिम्मेवार सञ्चार माध्यम र सञ्चारकर्मीहरूबाट यस्तो गैर जिम्मेवार कार्य भएको छैन तर, अनेक अनलाइन र फेसबुक पेजहरूबाट भइरहेका यस्ता भ्रमपूर्ण भ्रामक पोष्टहरू भइरहेका छन्, त्यसको आधारमा कुनै पनि धारणा नबनाइदिनु हुन हजुरहरूलाई सादर अनुरोध गर्दछु’, उहाँले अपिल गर्नु भएको छ ।














प्रतिक्रिया दिनुहोस्