रामेछाप, वैशाख १० । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लामा आयुर्वेद शिक्षा प्रवर्द्धन र उपचार पद्धतिको प्रभावकारी विस्तार गर्ने उद्देश्यले विद्यालय नर्स तथा आरोग्य केन्द्रका अभियानकर्ताका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ। समुदायमै स्वास्थ्य सचेतना फैलाउने लक्ष्यसहित आयोजना गरिएको उक्त तालिमले आयुर्वेदप्रति चासो र भरोसा बढाउने अपेक्षा गरिएको छ।

चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नवराज पथिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख दीपककुमार कार्कीले आयुर्वेदिक उपचार पद्धतिको मूल उद्देश्य ‘रोग लागेपछि उपचार होइन, रोग लाग्नै नदिनु’ भएको स्पष्ट पार्नुभयो। उहाँले आहार, व्यवहार, योग, ध्यान तथा सन्तुलित जीवनशैलीमार्फत स्वस्थ समाज निर्माण गर्न सकिने धारणा राख्नुभयो।
विद्यालय नर्स र अभियानकर्तामार्फत समुदायमा स्वास्थ्यसम्बन्धी सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको उक्त तालिम चार दिनसम्म सञ्चालन गरिएको थियो। तालिम अवधिमा सहभागीहरूलाई आयुर्वेदको सिद्धान्त, दैनिक जीवनमा अपनाउन सकिने स्वास्थ्य अभ्यास तथा रोग निवारणका उपायबारे व्यावहारिक ज्ञान प्रदान गरिएको चिकित्सालयले जनाएको छ।
तालिमको समापन समारोहमा जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाले आयुर्वेद चिकित्सालयले जिल्लाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो। उहाँले विद्यालय नर्सहरूलाई दिइएको यस्तो तालिमले समुदायस्तरमै स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा अध्यक्ष पथिकले तालिमले विद्यालय नर्सहरूको कार्यक्षेत्रलाई अझ व्यापक बनाउने बताउँदै आयुर्वेदिक उपचार पद्धतिबारे नागरिकलाई सचेत बनाउन आग्रह गर्नुभयो। उहाँले पछिल्लो समय मानिसहरू शारीरिक र मानसिक रूपमा कमजोर बन्दै गइरहेको उल्लेख गर्दै आयुर्वेदले त्यसलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, जिल्लाको समग्र स्वास्थ्य क्षेत्रको विकासका लागि सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।
जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले विद्यालय नर्सहरूको समुदायसँग प्रत्यक्ष सम्पर्क रहने भएकाले स्वास्थ्य सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न उनीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताउनुभयो।
तालिमकी सहभागी सम्झना बराइलीले आयुर्वेदसम्बन्धी ज्ञान आफूहरूका लागि नयाँ र उपयोगी रहेको अनुभव सुनाउनुभयो। “हामीले मेडिकल प्रणालीबारे मात्र पढेका थियौँ, आयुर्वेदका कक्षा अत्यन्तै उपयोगी र व्यवहारिक लागे,” उहाँले भन्नुभयो।
उक्त तालिममा जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झा, चिकित्सालयका प्रमुख दीपककुमार कार्की, डा. उत्तम गैर, डा. अरुण टेर्रा लगायतले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका नर्स तथा आरोग्य केन्द्रका अभियानकर्ता गरी २० जनाको सहभागिता रहेको थियो।












प्रतिक्रिया दिनुहोस्