जनता टाइम्स

१४ बैशाख २०८३, सोमबार ०७:४२

सेना सडकमा किन ? रास्वपा सरकार असफल भइसक्याे, सुकुमबासीमाथि दमन स्वीकार्य छैन : हर्क साम्पाङ


काठमाडौं, वैशाख १४ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमबासी बस्तीमा नेपाली सेना परिचालन गरिएको विषयप्रति कडा आपत्ति जनाउँदै सरकारको तीव्र आलोचना गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले संसदबाट अनुमोदन नगरी सेना सडकमा खटाइएको हो ? भन्ने प्रश्न उठाउनुभएको छ। “नेपाली सेना किन बाटोमा निस्केको ? सदनले अनुमोदन गरेर निस्केको हो ? कि यो शासन सैनिक शासन हो ?” भन्दै उहाँले सरकारसँग जवाफ माग्नुभएको छ।

उहाँले सीमामा खटिनुपर्ने सेना सुकुमबासी बस्तीमा देखिनु ‘आपत्तिजनक’ भएको टिप्पणी गर्नुभएकाे छ। गरीब तथा विपन्न समुदायमाथि राज्यले दमन गरेको आरोप लगाउँदै उहाँले यस्तो कदमलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउनुभएकाे छ ।

अध्यक्ष साम्पाङले वर्तमान सरकारलाई असफल घोषित गर्दै “गरीबको गाँस खोस्ने र बास भत्काउने सरकार असफल हुन्छ” भन्ने धारणा राख्नुभएकाे छ। उहाँले सार्वजनिक भएका तस्बिरहरूले राज्यको चरित्र प्रस्ट पारेको दाबी गर्दै त्यसले ‘हजारौँ शब्द बोलिरहेको’ उल्लेख गर्नुभएकाे छ ।

उहाँले भ्रष्टाचारमा संलग्न भई सम्पन्न जीवन बिताइरहेका व्यक्तिहरूप्रति कटाक्ष गर्दै गरीबलाई बाँच्न सक्ने वातावरण बनाउन चुनौती दिनुभएकाे छ। “गरीबलाई सास फेर्न सक्ने वातावरण बनाएर देखाऊ,” उहाँले भन्नुभएकाे छ ।

साम्पाङले सरकारको कदमलाई ‘अमानवीय कृत्य’को संज्ञा दिँदै यसलाई सामाजिक सञ्जाल वा अन्य माध्यमबाट समर्थन गर्न खोजिए पनि त्यसको औचित्य पुष्टि हुन नसक्ने जिकिर गर्नुभएकाे छ ।  उहाँले ठूलो संख्यामा प्रहरी र सेना परिचालन गरी गरीबमाथि दमन गर्नु लोकतान्त्रिक शासनको चरित्र नभएको टिप्पणी गर्नु भएकाे छ ।

उहाँले नागरिकलाई सरकारविरुद्ध खुलेर विरोध गर्न आह्वान गर्दै देशको वर्तमान अवस्थाबारे गम्भीर प्रश्न उठाउनुभएको छ। “नेता महलमा अनि जनता सडकमा ? हामीले बनाउन खोजेको देश के यस्तै हो त ?” भन्दै उहाँले सम्पूर्ण नेपालीलाई आत्ममूल्यांकन गर्न आग्रह गर्नुभएकाे छ ।

उहाँले “यो देश गरीबको पनि हो” भन्ने सन्देश दिँदै राज्यले सबै नागरिकप्रति समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभएको छ।