जनता टाइम्स

२८ मंसिर २०७६, शनिबार १५:००

रामचन्द्र पौडेलेको त्यो अडानपछि निराश बने देउवा


काठमाडौं, मंसिर २८ । पछिल्लो समय पार्टीमा बढेको बिबाद मत्थर पार्न काँग्रेस सभापति शेरबहादुर देउवाले आज बरिष्ठ नेता रामचन्द्र पौडेलसँग लामो छलफल गर्नुभएको छ । केन्द्रीय समिति बैठक नै बहिष्कार गरेर हिडनुभएका बरिष्ठ नेता पौडेललाई फकाउन बिहान १० बजे सभापति देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर पौडेल निवास बोहोराटार पुग्नुभएको थियो ।

पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीका अनुसार सभापति देउवा र नेतापौडलबीच एक घण्टा छलफल भएको छ । छलफलको क्रममा देउवाले पार्टीमा एकजुट भएर जानुपर्ने आवश्यकताबारे जोड दिनुभए पनि पौडेल पक्षको अडानको बिषयमा ठोश जवाफ नदिएको पौडेल निकट स्रोतको भनाई छ । पौडेल पक्षले बिहीबारको केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेपछि आज देउवा सहमति खोज्न पौडेलसँग कुराकानी गर्न पुग्नुभएको हो । कांग्रेस केन्द्रीय समिति बैठक आइतवार बस्दैछ । सो बैठक पनि बहिष्कार गर्ने अडानमा पौडेल पक्ष रहेपछि मनाउन आज निवासमै देउवा पुग्नुभएको हो ।

पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने देउवा पक्षको घोषणापछि बिहीवार पौडेल पक्ष बैठक बहिस्कार गरेको थियो । यस्तै देउवा पक्षले पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४१ बनाउने प्रस्तावप्रति पनि पौडेल पक्षको विमति रहेको छ । पौडेल पक्षको बहिस्कारबीच देउवा पक्षले केन्द्रीय समिति बैठकमा छलफलका लागि ९ वडा एजेण्डा प्रस्तुत गरेको छ ।

सोही विषयमा सहमति खोज्न तथा पौडेललाई फकाउन देउवाले अग्रसरता लिनुभएको हो । पौडेलसँगै महामन्त्री डा. शसांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण सिटौलासहितका नेताहरुले पनि बिहीवारको बैठक बहिष्कार गर्नुभएको थियो । आफ्नो टीममा परामर्शपछि देउवाले पौडेलसँग पहिलो प्राथमिकतामा राखेर छलफल गर्नुभएको हो । आजको छलफलमा पनि पौडेलले महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिको एजेण्डा बन्नुपर्ने अडान राख्नुभएको छ । तर देउवाले छलफलको सुरुमा पार्टीको स्थानीय तहका संरचनालाई संघीय संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउन सकिने अडान दोहोर्याउनु भएको छ ।

छलफलको अन्त्यमा देउवा पौडेलका मागमा सकरात्मक भएको बताए पनि सहमति भने जुटन सकेन । पौडेलका स्वकीय सचिव अधिकारीका अनुसार सभापति देउवाले महाधिवेशनको कार्यलातिकाबारे सोच्न सकिने भनेर छलफल टुंग्याउनु भएको छ । आजको बार्तापछि विभाग गठन र महाधिवेशन कार्यतालिका विवाद समाधानका लागि देउवा पक्षबाट उपसभाति निधि र पौडेल पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा गठित वार्ता टोलीले थप छलफल गर्ने छ । उक्त वार्ता टोलीबीच सहमतिको वातावरण बन्ने दुवै पक्षले विश्वास लिएको छ । वार्ता टोलीले आज वा आइतबार बिहान छलफलमा जुट्ने छ । वार्ता टोलीबीचको छलफलले नै आइतवार बोलाइएको केन्द्रीय समिति बैठकको भविष्य निर्धारण गर्ने भएको छ ।

यसअघि शुक्रबार सिंहको निवास चाक्सीबारीमा भएको पौडेल पक्षको भेलाले केन्द्रीय समितिमा महाधिवेशनको कार्यतालिका बेगरका एजेण्डामा हुने छलफलमा सहभागी नहुने निर्णय गरिसकेको छ । सोही भेलाको निर्णय सुनेपछि देउवा पौडेल निवास पुग्नुभएको हो । देउवा महाधिवेशको समय पर धकेल्दै आफू अनुकुलका सवै संरचना बनाएर पुनः पार्टीको बगडोर आफ्नै हातमा कायम राख्ने योजनामा हुनुहुन्छ । सोही योजना तुहाउन पौडेल र सिंटौला समुह एकजुट बनेको छ ।