जनता टाइम्स

१४ बैशाख २०८३, सोमबार १२:०२

सुकुम्वासी बस्तीमा डोजर चलाउने कार्य अस्वीकार्य : देशभरका सुकुम्वासीलाई संगठित गरी श्रम संस्कृति पार्टी आन्दोलनमा उत्रने


काठमाडौं, वैशाख १४ । सुकुम्वासी बस्तीमा डोजर लगाइएको घटनाको विरोधमा श्रम संस्कृति पार्टी आन्दोलनमा उत्रिने भएको छ।

पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको उक्त कदमप्रति कडा असन्तुष्टि जनाउँदै देशव्यापी रूपमा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको हो।

उहाँले देशभरका पार्टीका जिल्ला तथा पालिका समितिहरूलाई निर्देशन दिँदै सुकुम्वासी र अव्यवस्थित बसोबासी समुदायलाई एकीकृत गरी आन्दोलनलाई सशक्त बनाउन आग्रह गर्नुभएको छ।

साम्पाङले सरकारको कदमले कमजोर र विपन्न वर्गमाथि अन्याय भएको भन्दै त्यसको सशक्त विरोध आवश्यक रहेको बताउनुभएको छ । उहाँका अनुसार, सुकुम्वासीका समस्या समाधान गर्ने दीर्घकालीन नीति ल्याउनुपर्नेमा उल्टै डोजर प्रयोग गर्नु गैरजिम्मेवार कदम हो।

पार्टीले सुकुम्वासीहरुकाे अधिकार र सम्मानजनक बसोबासको सुनिश्चितताका लागि देशभर अभियान सञ्चालन गर्ने जनाएको छ। ‘देशै भरका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई संगठित गर्ने अभियान देशैभरि सञ्चालन गर्न सबै जिल्ला समिति तथा पालिका समितिहरूलाई अनुरोध छ !’, साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।