काठमाडौं, वैशाख १४ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले सरोकारवालासँग पर्याप्त छलफल नगरी कुनै पनि विधेयक अघि नबढाइने स्पष्ट पार्नुभएको छ।
आइतबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले विधेयक निर्माण प्रक्रियामा सम्बन्धित पक्षको सहभागिता अनिवार्य बनाइएको बताउनुभयो। अध्यक्ष दाहालले अब कुनै पनि विधेयक संसदमा प्रवेश गरेपछि प्रारम्भिक चरणमै सरोकारवालाहरूलाई सहभागी गराएर उनीहरूको समस्या, भावना र मनोविज्ञानलाई समेट्ने अभ्यास सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार यसले कानुन निर्माण प्रक्रियालाई थप पारदर्शी, समावेशी र प्रभावकारी बनाउनेछ।
उहाँले विधेयक जहाँबाट र जसरी आए पनि संसदमा त्यसबारे गम्भीर छलफल गरिने र आवश्यक सुधारसहित मात्र टुंगोमा पुर्याइने उल्लेख गर्नुभयो। विगतमा पर्याप्त परामर्शबिना विधेयक अघि बढाइने प्रवृत्तिमा सुधार ल्याउन नयाँ प्रणाली लागू गरिएको उहाँको भनाइ छ।
अध्यक्ष दाहालले अहिले पनि कतिपय अवस्थामा विधेयकको तयारी प्रक्रियामा स्पष्टता अभाव रहेको औंल्याउँदै मन्त्रीहरू स्वयं पनि विधेयकको स्रोतबारे अनभिज्ञ हुने अवस्था देखिएको बताउनुभयो। यस्तो अभ्यासलाई सुधार्दै अब सरोकारवालाको प्रत्यक्ष सहभागितासहित विधेयक अघि बढाउने प्रणालीलाई संस्थागत गरिने उहाँले जोड दिनुभयो।
कार्यक्रममा उहाँले संसदमा युवाको बढ्दो सहभागितालाई सकारात्मक रूपमा उल्लेख गर्दै हाल ४० प्रतिशतभन्दा बढी युवा प्रतिनिधित्व हुनु गर्वको विषय भएको बताउनुभयो। यसले नीति निर्माणमा नयाँ सोच र ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै समावेशी र उत्तरदायी संसद निर्माणतर्फ यो महत्वपूर्ण संकेत भएको उहाँले उल्लेख गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्