जनता टाइम्स

१४ बैशाख २०८३, सोमबार १५:२२

मन्त्रिपरिषद् बैठक : नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी महानिरीक्षक बनाउने, यस्ता छन् तीनवटा निर्णय 


काठमाडौं, वैशाख १३।  आज बसेको मन्त्रिपरिषद् बैठकले तीनवटा निर्णय गरेको छ ।

बैठकले सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ । बैठकले वैशाख १९ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।

सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक राजु अर्याल ४ वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश पाउँदै हुनुहुन्छ । उहाँ २०७९ वैशाख १८ गते आईजीपी नियुक्त हुनुभएको थियो ।

नवनियुक्त आईजी पौडेल र अवकाश हुने अर्याल नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जामा एकै मितिमा प्रवेश गर्नु भएको हो । उहाँहरू नेपाल प्रहरीको १११ औँ टोलीका अधिकृत हुनुहुन्छ । उहाँहरू २०५४ चैत  गते १८ प्रहरी सेवामा प्रवेश गर्नु भएको थियो । अर्याल र पौडेलसहितका अधिकृत २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना हुँदा उक्त संगठनमा समायोजित हुनुभएको थियो ।

यसै गरी सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने  निर्णय पनि भएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

पोखरेलले त्रिवि क्रिकेट मैदान भत्काउने कुरा पनि सत्य नभएको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयसँग सम्झौता थप गर्ने बेला भएकोले थप सम्झौता गरेर अघि बढिने बताउनुभयो । ‘राज्यकाे त्यत्रो लगानी भएको संरचना कहाँ भत्काउनु ?’, उहाँले भन्नुभयो ।