जनता टाइम्स

१५ बैशाख २०८३, मंगलवार ०९:२१

किताब खोज्दै बालिका, भविष्य उजाड – सुकुम्बासी बस्तीमा पीडाको चीत्कार


काठमाडौं, वैशाख  १५ । थापाथली सुकुम्बासी बस्ती हटाइएपछि त्यहाँ बसोबास गर्दै आएकाहरूको दैनिक जीवन र भविष्य अन्योलमा परेको छ। भत्काइएका टहराबीच आफ्ना किताब र सामान खोजिरहेकी १५ वर्षीया ईश्वरी राईले बस्ने ठेगान नहुँदा पढाइ नै प्रभावित हुने चिन्ता व्यक्त गर्नुभएको छ।

कक्षा ६ को परीक्षा सकेर बसेकी उहाँलाई अब कुन विद्यालयमा पढ्ने भन्ने अन्योल छ। “नयाँ ठाउँ, नयाँ स्कुल, नयाँ साथी—सबै कुरा अनिश्चित भयो,” उहाँले बताउनुभयो। ठूलो भएर फोटोग्राफर बन्ने सपना बोकेकी उहाँलाई अहिले भने पढाइप्रति नै मन नलाग्ने अवस्था सिर्जना भएको छ।

बस्ती भत्काइएपछि परिवारका सदस्यहरू समेत समस्यामा परेका छन्। अस्थायी रूपमा होटलमा बस्दै आएको भए पनि त्यहाँ अपेक्षित व्यवहार नपाएको गुनासो उहाँले गर्नुभयो। “हामी सुकुम्बासी हौँ भन्ने थाहा पाएपछि व्यवहार फरक भयो,” उहाँको भनाइ छ।

त्यस्तै, ६० वर्ष नाघ्नुभएकी फूलमाया राईले बस्ती भत्काइएपछि आफू बेहोससम्म भएको अनुभव सुनाउनुभयो। “वर्षौँदेखि बस्दै आएको घर एकैछिनमा भत्किँदा सहनै सकिनँ,” उहाँले भावुक हुँदै भन्नुभयो। हाल उहाँहरूको परिवारलाई अस्थायी रूपमा बसोबासको व्यवस्था गरिए पनि जीविकोपार्जन र पशुपालनको समस्या यथावत् रहेको छ।

फूलमायाका अनुसार परिवारका केही सदस्यहरू होटलमा बसे पनि घरपालुवा जनावर र सरसामान जोगाउन अन्य सदस्यहरू बस्तीमै बस्न बाध्य छन्। “हाँस, कुखुरा, कुकुर सबै छोडेर जान सकिँदैन,” उहाँले भन्नुभयो।

यसैबीच, अर्की स्थानीय सुन्तली राईले पनि सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै गरिबको समस्या समाधानभन्दा विस्थापनमा जोड दिइएको गुनासो गर्नुभयो। “पहिले समाधान खोज्नुपर्ने हो, तर सिधै डोजर चलाइयो,” उहाँले भन्नुभयो।

बस्ती हटाइएपछि अस्थायी व्यवस्थापन गरिए पनि शिक्षा, रोजगारी र दीर्घकालीन बसोबासको विषय अझै अन्योलमै रहेको पीडितहरूले बताएका छन्।