काठमाडौं, वैशाख १५ । धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रबिक्रम बेघाले धरानमा कुनै पनि नागरिक घरवारविहीन हुने वा कसैको घरमा डोजर चल्ने अवस्था आउन नदिने स्पष्ट पार्नुभएको छ।
धरानका केही सार्वजनिक जग्गामा बसेका बस्तीका घर भत्काइने भन्ने हल्ला फैलिरहेका बेला उहाँले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो। प्रमुख बेघाले कसले के गरिरहेको भन्ने विषयमा आफूले अनावश्यक टिप्पणी नगर्ने बताउँदै आफ्नो कार्यक्षेत्रभित्र कसैको घर भत्काउन नदिने अडान व्यक्त गर्नुभयो। उहाँले हाल बसोबास गरिरहेका संरचनाबारे संवेदनशील रहँदै नागरिकको सुरक्षालाई प्राथमिकता दिने बताउनुभयाे ।
तर सार्वजनिक जग्गामा रहेका पुराना संरचना भत्काएर नयाँ घर निर्माण गर्ने प्रयास नगर्न उहाँले आग्रह गर्नुभएको छ। त्यस्ता गतिविधिले समस्या थप जटिल बनाउन सक्ने भन्दै उहाँले नियमको पालना गर्न आग्रह गर्नुभयो।
नयाँ घर निर्माण गर्न चाहने नागरिकलाई उपमहानगरपालिकाले वैकल्पिक व्यवस्था मिलाउने पनि उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार त्यस्ता नागरिकलाई आवश्यक पर्ने जग्गासहित दुई लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरिएको छ।
‘धरान उपमहानगरपालिकामा म रहुन्जेल डोजर चल्दैन, घर भत्किँदैन,’ उहाँले भन्नुभयो।
हाल धरानमा सार्वजनिक जग्गामा बसोबास र त्यसको व्यवस्थापनबारे बहस चुलिँदै गएको अवस्थामा मेयर बेघाको अभिव्यक्तिले स्थानीयलाई राहत मिलेकाे छ ।













प्रतिक्रिया दिनुहोस्