काठमाडौं, वैशाख १५। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको पछिल्लो चुनावी परिणामप्रति तीव्र असन्तुष्टि जनाउनु भएको छ ।
मंगलबार धुम्बाराहीस्थित स्मार्ट होटेलमा आफू पक्षीय नेताहरूको भेलालाई सम्बोधन गर्दै खड्काले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टी एकढिक्का भएर जान नसक्दा ठुलो क्षति भएको दाबी गर्नुभयो। उहाँका अनुसार पार्टी एकजुट भएर चुनावमा गएको भए कम्तीमा ७० सिट जित्न सकिने अवस्था रहेको थियो।
‘सिङ्गो पार्टी एकढिक्का भएर चुनावमा जान पाएको भए पहिलो पार्टी रास्वपा नै बने पनि ७० कांग्रेस आउँथ्यो,’ खड्काले भन्नुभयो ‘अहिलेकै उम्मेदवारको अवस्थामा पनि हामी ५०–६० सिटमा पुग्थ्यौँ, चुनावको परिणाम अर्कै हुन्थ्यो, देशले आजको अवस्था भोग्नुपर्ने थिएन।’
खड्काले पार्टीको चुनावी हारको मूल कारण विशेष महाधिवेशनलाई ठहर गर्दै त्यसको अगुवाइ गर्ने नेताहरू नै जिम्मेवार रहेको बताउनुभयो। ‘त्यही विशेष महाधिवेशन नै कांग्रेसका लागि चुनावको गाह्रो बन्यो, कांग्रेसको जुन दुर्गति भयो, त्यसको मूल कारण यही हो,’ उहाँले भन्नुभयो ।
उहाँले विशेष महाधिवेशनको नेतृत्व गर्नेहरू नै वर्तमान अवस्थाका मुख्य दोषी रहेको किटानसमेत गर्नुभयो। ‘विशेष महाधिवेशनको अगुवाइ गर्नेहरू नै मुख्य दोषी हुन्,’ खड्काको भनाइ थियो।
त्यसै गरी, तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन र नियमित महाधिवेशनको मुद्दामा आफ्नै वचन तोडेको आरोप पनि उहाँले लगाउनुभयो। सो घटनाका साक्षी तत्कालीन केन्द्रीय सदस्य रमेश लेखक रहेको उहाँको दाबी छ ।
भेलामा पूर्वसभापति शेरबहादुर देउवानिकट निवर्तमान केन्द्रीय सदस्य, प्रदेश सभापति, जिल्ला सभापति, क्षेत्रीय सभापति तथा भातृ संगठनका प्रमुखहरूको सहभागिता रहेको छ। बैठकमा सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा छलफल भइरहेको नेताहरूले बताउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्