जनता टाइम्स

१५ बैशाख २०८३, मंगलवार १६:०३

१० वर्षको तथ्याङ्कले देखायो देशमा उल्लेख्य प्रगति, अर्थमन्त्री स्वर्णिमले नै खोले पुराना दलकै पालामा भएको प्रगति 


काठमाडौं, वैशाख १५। देशमा केही भएन भन्ने व्यापक भाष्य चलिरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गर्नुभएको पछिल्लो आर्थिक स्थिति पत्रले विगत एक दशकमा नेपालले हासिल गरेको प्रगतिका विविध सूचकहरूले जवाफ दिएको छ ।

सकारले साेमबार सार्वजनिक गरेको प्रतिवेदनले बालेन नेतृत्वकै सरकारका नेताहरूले विगतमा केही भएको थिएन भनि गरेको प्रचार भ्रम हो भने प्रमाणित गरिदिएको छ ।  विशेष गरी २०७२ सालको भूकम्पपछिदेखि आर्थिक वर्ष २०८२/८३ सम्मको अवधिमा देखिएका आर्थिक, पूर्वाधार तथा सामाजिक क्षेत्रका परिवर्तनलाई तथ्याङ्कले पुष्टि गरेको छ ।

पछिल्ला वर्षहरूमा देशमा विकास निर्माण नभएको, अवस्था झन् कमजोर भएको भन्ने भाष्य बन्दै गइरहेका बेला सार्वजनिक गरिएको यो प्रतिवेदनले उक्त भाष्यभन्दा भिन्न तस्बिर देखाएको छ। विशेष गरी २०४६ पछिका उपलब्धिलाई अवमूल्यन गर्दै  हालको सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका केही राजनीतिक धारहरूले अघि सारेको ‘देशमा केही भएन’ भन्ने तर्कलाई यसले चुनौती दिएको छ।

सरकारको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा २६ खर्ब ८ अर्ब रुपैयाँ रहेको अर्थतन्त्रको आकार २०८१/८२ मा बढेर ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ। सोही अवधिमा आर्थिक वृद्धिदर ०.४३ प्रतिशतबाट बढेर ४.६१ प्रतिशत पुगेको छ भने चालु आर्थिक वर्षमा ३.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।

प्रतिव्यक्ति आय ८९९ अमेरिकी डलरबाट बढेर १,५१७ डलर पुगेको छ। संरचनात्मक परिवर्तनतर्फ कृषिको योगदान २८.४ प्रतिशतबाट घटेर २५.२ प्रतिशतमा झरेको छ भने सेवा क्षेत्रको हिस्सा ५७.५ प्रतिशतबाट बढेर ६२ प्रतिशत पुगेको छ। उत्पादनमूलक उद्योगको योगदान भने ५.४५ प्रतिशतबाट घटेर ५ प्रतिशतमा सीमित भएको देखिएको छ।

पूर्वाधारतर्फ उल्लेखनीय प्रगति देखिएको छ। २०६८ सालसम्म ६९७ मेगावाट रहेको विद्युत् जडित क्षमता २०८२ फागुनसम्म बढेर ४,१०५ मेगावाट पुगेको छ। विद्युत् पहुँच ९९ प्रतिशत जनसङ्ख्यामा पुगेको जनाइएको छ।

सडक सञ्जाल विस्तार पनि उल्लेखनीय रहेको छ। २०७२ सालमा ११ हजार ७९८ किलोमिटर रहेको कालोपत्रे सडक २०८२ फागुनसम्म २० हजार २०२ किलोमिटर पुगेको छ।

यद्यपि, सार्वजनिक ऋणमा उल्लेखनीय वृद्धि भएको देखिएको छ। २०७२ असारमा ५ खर्ब ४४ अर्ब रहेको सार्वजनिक ऋण २०८२ फागुनसम्म २८ खर्ब ७८ अर्ब पुगेको छ, जुन जिडिपीको ४३.८ प्रतिशत बराबर हो।

यसैबिच, राजस्व सङ्कलन ४ खर्ब ५ अर्बबाट बढेर ११ खर्ब ७९ अर्ब पुगेको छ भने विदेशी विनिमय सञ्चिति १० खर्ब ३९ अर्बबाट बढेर ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ। हालको सञ्चितिले करिब १८.५ महिनाको आयात धान्न सक्ने बताइएको छ।

विप्रेषण आप्रवाह पनि उल्लेखनीय रूपमा बढेको छ। याे ६ खर्ब ६५ अर्बबाट बढेर १७ खर्ब २३ अर्ब पुगेको छ। निर्यात ७० अर्बबाट बढेर २७७ अर्ब पुगेको छ भने आयात ७ खर्ब ७३ अर्बबाट बढेर १८ खर्ब ४ अर्ब पुगेको छ।

सामाजिक सूचकहरूमा पनि सुधार देखिएको छ। साक्षरता दर ५८ प्रतिशतबाट बढेर ७६.३ प्रतिशत पुगेको छ। मातृ मृत्युदर १९० बाट घटेर १५१ मा झरेको छ भने शिशु मृत्युदर ३२ बाट घटेर २८ मा सीमित भएको छ।

त्यसै गरी, गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २५.१६ प्रतिशतबाट घटेर २०.२७ प्रतिशतमा झरेको तथ्याङ्कमा उल्लेख छ।

अर्थमन्त्री वाग्लेले सार्वजनिक गर्नुभएको यी तथ्याङ्कहरूले नेपालले पछिल्लो दशकमा आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको देखाएको छ । सो अवधिमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेको थियो ।