काठमाडौं, वैशाख १५। नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले संसद् छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्ने सरकारको कदमप्रति गम्भीर आपत्ति जनाउनुभएको छ।
उहाँले प्रतिनिधिसभा जनप्रतिनिधिहरूको सर्वोच्च थलो भएको उल्लेख गर्दै मुलुकका लागि आवश्यक नयाँ कानुन निर्माण, संशोधन वा खारेजी गर्ने मुख्य जिम्मेवारी यही संस्थाको भएको बताउनुभयो।
नेम्वाङले नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई स्पष्ट बहुमत दिएको सन्दर्भमा संविधानसम्मत ढङ्गले संसद्मार्फत कानुन निर्माण गर्न र जनपक्षीय सुधार गर्न पूर्ण कार्यादेश प्राप्त भएको उल्लेख गर्नुभयो। तर, यस्तो स्पष्ट बहुमत प्राप्त सरकार स्वयंले संसद् छलेर अध्यादेशको बाटो रोज्नु लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय अभ्यास विपरीत भएको उहाँको भनाइ छ। उहाँका अनुसार यसले शक्ति पृथकीकरणको सिद्धान्त कमजोर बनाउनुका साथै संविधानवादको मर्मसमेत विपरीत हुने सङ्केत गर्दछ।
उहाँले यसलाई प्रकारान्तरले संसद्माथिको अविश्वासका रूपमा व्याख्या गर्न सकिने उल्लेख गर्दै रास्वपा नेतृत्वलाई आफ्ना पूर्वप्रतिबद्धता र अडानहरू पुनः स्मरण गर्न आग्रह गर्नुभयो। नेम्वाङले नेपालको संविधानको धारा ११४ अनुसार ‘बाध्यात्मक अवस्था’मा मात्र अध्यादेश जारी गर्न सकिने व्यवस्था रहेको स्मरण गराउँदै वर्तमान अवस्थामा त्यस्तो के बाध्यता उत्पन्न भयो भन्ने प्रश्न उठाउनुभयो। ‘स्पष्ट बहुमतसहितको संसद् विद्यमान हुँदाहुँदै सरकारले अध्यादेशको बाटो रोज्नु लोकतान्त्रिक मूल्य, संसदीय अभ्यास र संवैधानिक मर्यादा विपरीत हो,’ उहाँले भन्नुभएको छ ।
उहाँले शासन सञ्चालनमा सहजता भन्ने नाममा अध्यादेशको प्रयोग बढ्दै जाँदा सरकार स्वेच्छाचारितातर्फ उन्मुख हुने जोखिम रहेको पनि औँल्याउनुभयो। संसद्लाई छलेर अध्यादेशलाई ‘नियमित विकल्प’ बनाउने प्रवृत्तिले लोकतान्त्रिक मूल्य, संसदीय अभ्यास र संवैधानिक मर्यादालाई कमजोर बनाउने भन्दै उहाँले यस्ता कदममाथि पुनर्विचार गरी फिर्ता लिन सरकारलाई आग्रह गर्नुभयो।
नेम्वाङले लोकतन्त्रको सार केवल बहुमत प्राप्तिमा मात्र सीमित नभई प्राप्त बहुमतलाई संविधान, विधि र जनहितको मर्यादाभित्र रहेर सदुपयोग गर्न सक्नुमै निहित हुने धारणा व्यक्त गर्नुभयो।
यस्तो छ उहाँको धारणा :
प्रतिनिधिसभा जनप्रतिनिधिहरूको सर्वोच्च थलो हो। मुलुकका लागि आवश्यक नयाँ कानुन निर्माण, पुरानाको संशोधन वा खारेजी गर्ने मुख्य जिम्मेवारी यसकै हो। नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्ट बहुमत दिएका छन्। अर्थात्, संविधानसम्मत ढङ्गले जनताको सर्वोच्च थलोमार्फत मुलुकका लागि आवश्यक नयाँ कानुन बनाउन र जनपक्षीय सुधारका लागि पुराना कानुन परिमार्जन वा खारेज गर्ने पूर्ण कार्यादेश रास्वपालाई प्राप्त छ।
यसरी स्पष्ट बहुमत प्राप्त रास्वपा नेतृत्वको सरकारले संसद् छलेर अध्यादेशको कमजोर बाटो रोज्नु लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय अभ्यास विपरीत शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर बनाउने कदम मात्र होइन, यो संविधानवादको सिद्धान्त विपरीत पनि हो। प्रकारान्तरले यो जनताको विश्वासको सर्वोच्च थलो अर्थात् संसद्माथिको अविश्वास पनि हो। म रास्वपा नेतृत्वलाई आफ्ना पूर्व प्रतिबद्धता, मान्यता र अडानहरू एक पटक पुनः स्मरण गर्न अनुरोध गर्दछु।
नेपालको संविधानको धारा ११४ अनुसार ‘बाध्यात्मक अवस्था’ मा मात्र अध्यादेश जारी गर्न सकिने व्यवस्था छ। म विनम्रताका साथ सोध्न चाहन्छु- नेपाली जनताले असाधारण विश्वास गरेर स्पष्ट बहुमत दिएको संसद् विद्यमान हुँदाहुँदै कस्तो ‘बाध्यात्मक अवस्था’ आएर वर्तमान सरकारले अध्यादेशको बाटो रोजेको हो?
यो त लोकतान्त्रिक मूल्य, संसदीय अभ्यास र संवैधानिक मर्यादाको पक्षमा उभिने वाचा गरेर जनताबाट निर्वाचित माननीय सांसदहरूको प्रतिबद्धता र भावना विपरीत पनि होइन र?
शासन सञ्चालनमा सहजताका लागि भनिए पनि यसले अन्ततः सरकारलाई स्वेच्छाचारितातर्फ उन्मुख गराउने हो कि भन्ने प्रश्न र संशय स्वाभाविक रूपमा उठेको छ। संसद्लाई छलेर अध्यादेशलाई ‘नियमित विकल्प’ का रूपमा प्रयोग गरी लोकतान्त्रिक मूल्य, संसदीय अभ्यास र संवैधानिक मर्यादालाई कमजोर नबनाउन अपिल गर्दछु।
यस प्रकारका कदमहरूमाथि पुनर्विचार गरी फिर्ता लिनु नै लोकतान्त्रिक मूल्य, मान्यता र संविधानवादको सिद्धान्तप्रतिको वास्तविक सम्मान हुनेतर्फ ध्यानाकर्षण गराउँदछु।
लोकतन्त्रको वास्तविक सार केवल बहुमत प्राप्त गर्नुमा मात्र होइन, प्राप्त बहुमतलाई संविधान, विधि र जनहितको मर्यादाभित्र रहेर कसरी सदुपयोग गरिन्छ भन्ने कुरामा निहित हुन्छ। बहुमत केवल शक्ति आर्जन गर्ने माध्यम हो, तर यसको वैधता केवल संविधानको रक्षा, विधिको शासन र नागरिकको हितमा मात्र सुरक्षित रहन्छ।













प्रतिक्रिया दिनुहोस्