जनता टाइम्स

१६ बैशाख २०८३, बुधबार ०७:३७

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने कुरा मूर्खताको पराकाष्ठा : महेश बस्नेत


काठमाडौं, वैशाख १६ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने विषयलाई ‘मूर्खताको पराकाष्ठा’ भएको बताउनुभएको छ।

उहाँले संविधानले सुनिश्चित गरेको संगठन स्वतन्त्रता र नेपालले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सँग गरेको प्रतिबद्धता बिर्सन नहुने उल्लेख गर्नुभएकाे छ । यस्ता संस्थाहरूलाई कुनै व्यक्तिको लहडका भरमा खारेज गर्ने प्रस्ताव लोकतान्त्रिक मूल्यविपरीत हुने उहाँको भनाइ छ।

प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वकाे सरकारबाट यस्ता धारणा सार्वजनिक हुँदा गम्भीर बहस उठ्नु स्वाभाविक रहेको उहाँले बताउनुभयो। साथै, ट्रेड युनियन र विद्यार्थी संगठनहरूमा केही कमजोरी रहेको स्वीकार गर्दै उहाँले संसारमा पूर्ण रूपमा त्रुटिरहित संरचना नहुने धारणा राख्नुभएकाे छ ।  ‘प्रत्येक समस्याले समाधानको सम्भावना पनि बोकेको हुन्छ,’ उहाँले भन्नुभएकाे छ, ‘त्यसलाई पहिचान गर्न नसक्नु नेतृत्वकै कमजोरी हो।’

उहाँका अनुसार यस्ता संगठनहरूको समाधान खारेज नभई सुधार र प्रभावकारी नियमनमा निहित छ।

उहाँले तोडफोड र ध्वंस गर्न सजिलो भए पनि निर्माण र समृद्धि हासिल गर्न कठिन श्रम, स्पष्ट दृष्टि र दीर्घकालीन प्रतिबद्धता आवश्यक पर्ने उल्लेख गर्नुभएकाे छ। विगतमा विभिन्न राजनीतिक दललाई दोषारोपण गर्दै देश बनेन भन्ने भाष्य स्थापित गर्ने प्रयास भए पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा सार्वजनिक श्वेतपत्रले त्यस्ता धारणा खण्डन गरिसकेको उहाँको दाबी छ।

बस्नेतले अहिले जिम्मेवारी सम्हालेको छोटो अवधिमै सरकार प्रति व्यापक असन्तुष्टि र प्रश्नहरू उठ्न थालेको उल्लेख गर्दै यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो। उहाँका अनुसार लोकतन्त्र सुदृढ बनाउने बाटो अधिकार कटौती नभई संस्थागत सुधार हो। ‘आवेग होइन, नीति र विधिको शासन आवश्यक छ,’ उहाँकाे जाेड छ।