काठमाडौँ, वैशाख १६ । नेपाली सेनाले देशभरका सुकुम्बासीहरूको लगत संकलन सुरु गरेको विषयलाई लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले असन्तुष्टि जनाउँदै उक्त तथ्याङ्क उपलब्ध नगराउन स्थानीय तहलाई आह्वान गर्नुभएको छ।
साम्पाङले सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै ‘सेनाले मागेको सुकुम्बासीको लगत कुनै पनि पालिकाले नदिनु होला’ भन्दै यस कार्यप्रति आपत्ति जनाउनुभएको हो। उहाँले सुकुम्बासीको लगत संकलन गर्ने अधिकार सेना र प्रहरीजस्ता निकायलाई नभएको स्पष्ट पार्दै यस्तो कदम ‘सरासर गलत’ भएको टिप्पणी गर्नुभएको छ।
उहाँका अनुसार सेनाद्वारा मागिएको विवरणले सुकुम्बासी समुदायमा अनावश्यक त्रास सिर्जना गर्ने खतरा रहेको छ। ‘सुकुम्बासीको लगत माग्ने निकाय होइन सेना र प्रहरी, यो सरासर गलत छ, आतंक सिर्जना गर्न खोजिएको हो,’ उहाँले भन्नुभएको छ।
यसैबीच, नेपाली सेनाले विपद् व्यवस्थापनका लागि आवश्यक तथ्याङ्क संकलन गर्ने उद्देश्यले सुकुम्बासी बस्तीहरूको विवरण संकलन गर्न थालेको बताइएको छ। तर, यसबारे स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई समेत जानकारी नभएको स्रोतले जनाएको छ।
सरकारले विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउने कार्य अगाडि बढाइरहेको सन्दर्भमा सेनाले थालेको यस प्रकारको तथ्याङ्क संकलनले थप आशंका, आतंक र अन्योल बढाएको देखिन्छ। स्थानीय तहहरू समेत अन्योलमा परिरहेका बेला साम्पाङको यस्तो अपिल सार्वजनिक भएको हो।
उहाँले सेना र प्रहरीलाई पनि सरकारको लोकतन्त्र विरोधी र मानवता विरोधी आदेश नमान्न अपिल गर्नु भएको छ । ‘सेना र प्रहरीलाई अनुरोध-सरकारको लोकतन्त्र विरोधी र मानवता विरोधी आदेश पालना नगर्नु होला ! जनता रहे देश रहन्छ ! देश रहे सेना र प्रहरी !’, उहाँको अपिल छ ।













प्रतिक्रिया दिनुहोस्