जनता टाइम्स

१६ बैशाख २०८३, बुधबार ०९:१७

ज्योति मगरको प्रश्न : विवाहित पुरुषसँगको अनैतिक र गैरकानुनी अन्तरङ्गलाई गर्वका साथ छताछुल्ल पार्न मिल्ने व्यवस्था मेरो देशमा मात्रै छ कि अन्त पनि ?  


काठमाडौं, वैशाख १६ । कलाकार ज्योति मगरले पछिल्लो समय देशको कानुनी व्यवस्थाप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्दै महिलाको पक्षमा कानुन अत्यधिक बलियो बनेको महसुस भइरहेको बताउनुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले ‘बल्ल परिवर्तनको महसुस हुँदै छ’ भन्दै वर्तमान कानुनी अवस्थामाथि प्रश्न उठाउनुभएको हो। उहाँले श्रीमती होस् वा अन्य सम्बन्ध, कानुनी रूपमा पुरुष मात्र सजायको भागीदार बन्ने अवस्थाले असन्तुलन सिर्जना गरेको सङ्केत गर्नुभएको छ। ‘एक विवाहित पुरुष सङ्गको अनैतिक र गैरकानुनी अन्तरङ्गलाई नि गर्वका साथ छताछुल्ल पार्न मिल्ने व्यवस्था मेरो देश मा मात्रै छ कि अन्त पनि छ ?,’ उहाँले लेख्नुभएको छ।

मगरले विवाहित पुरुषसँगको सम्बन्ध सार्वजनिक रूपमा व्यक्त गर्न पाइने अवस्थाबारे पनि प्रश्न उठाउनुभएको छ।  उहाँले विगतमा रहेको ‘जार काट्ने’ प्रथाको उदाहरण दिँदै अब ‘सौता काट्ने’ जस्ता नयाँ प्रवृत्ति विकसित हुन सक्ने सङ्केत गर्दै समाज कुन दिशातर्फ जाँदै छ भन्ने प्रश्न उठाउनुभएको छ।  ‘पैला पैला “जार” काट्ने रीति थ्यो अब “सौता” काट्ने रीति बस्ला??? अबको परिवर्तन कुन लेबलमा हेर्न चाहन्छम् हामी ?’, उहाँको प्रश्न छ ।

कलाकार मगरको यस्तो टिप्पणीले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ भने यसले समकालीन कानुनी र सामाजिक मूल्य–मान्यतामाथि बहस सिर्जना गर्ने देखिएको छ।