रामेछाप, वैशाख १६ । केन्द्र सरकारले लागू गर्न खोजेको साप्ताहिक दुई दिन सार्वजनिक बिदाको निर्णयप्रति असहमति जनाउँदै रामेछापको गोकुलगंगा गाउँपालिकाले आफ्ना निकायहरू आइतबारसमेत सञ्चालनमा राख्ने निर्णय गरेको छ।
गाउँकार्यपालिकाको वैशाख १५ गते बसेको बैठकले स्थानीय आवश्यकता र सेवाको निरन्तरतालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरेको जनाएकाे छ। सो निर्णयअनुसार वैशाख १६ गतेदेखि गाउँपालिका मातहतका कार्यालय, वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाहरू आइतबार पनि नियमित रूपमा खुला रहनेछन्।
गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा शिक्षा क्षेत्रलाई विशेष ध्यान दिइएको उल्लेख छ। सातामा दुई दिन बिदा कायम गर्दा विद्यार्थीहरूको वार्षिक पाठ्य घण्टा अपुग हुने र त्यसले सिकाइको गुणस्तरमा प्रत्यक्ष असर पार्ने निष्कर्षसहित आइतबार पनि पठनपाठन सञ्चालन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ।
त्यसैगरी, ग्रामीण भौगोलिक बनावटका कारण इन्धन खपत न्यून रहने भएकाले बिदाको निर्णयबाट अपेक्षित इन्धन बचतको लक्ष्य हासिल नहुने ठहर गाउँपालिकाले गरेको छ। स्वास्थ्य सेवाको संवेदनशीलतालाई समेत मध्यनजर गर्दै आइतबार सेवा बन्द हुँदा दुर्गम भेगका बिरामीहरू समस्यामा पर्ने सम्भावना भएकाले सेवा निरन्तरता सुनिश्चित गरिएको बताइएको छ।
स्थानीय तहबाट प्रवाह हुने प्रशासनिक सेवा छिटो, प्रभावकारी र नागरिकमैत्री बनाउन पनि आइतबार कार्यालय सञ्चालनलाई आवश्यक कदमका रूपमा लिइएको गाउँपालिकाको भनाइ छ।
निर्णयअनुसार कार्यालयहरू बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म, विद्यालयहरू बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन् भने शुक्रबारको समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएको छ।
गाउँपालिका अध्यक्ष काजी बहादुर खड्काले उक्त निर्णय कार्यान्वयनमा सहयोग पुर्याउन सम्पूर्ण कर्मचारी, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई आग्रह गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्