काठमाडौं, वैशाख १६ । अविरल वर्षाका कारण हिजो साँझदेखि अवरुद्ध भएको बिपी राजमार्ग अस्थायी व्यवस्थापनपछि पुनः सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार रोशी खोलामा आएको बाढीले सडक बगाएपछि अवरुद्ध भएको राजमार्ग मर्मत तथा डाइभर्सन निर्माणपछि यातायात खुलाइएको हो।
गए रातिको वर्षासँगै रोशी खोलामा आएको बाढीले सडक खण्ड क्षतिग्रस्त बनाउँदा आवागमन ठप्प भएको थियो। अहिले खोलामै अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन गरिए पनि स्थायी पुनर्निर्माणको काम जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त क्षेत्रमा सामान्य बाढी आउँदा पनि यातायात अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। यसपटक पनि अस्थायी उपाय अपनाइएको भए पनि राेशी खाेलामा सामान्य बाढी आउने बित्तिकै सडक अवरुद्ध हुने अवस्था छ ।
मौसम पूर्वानुमानअनुसार अझै वर्षा जारी रहने सम्भावना रहेकोले यात्रुहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। सडक कुनै पनि बेला बन्द हुनसक्ने भएकाेले यात्रा अघि जानकारी लिन र आपतकालीन अवस्था परेमा १०० वा १०३ नम्बरमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।













प्रतिक्रिया दिनुहोस्