जनता टाइम्स

१६ बैशाख २०८३, बुधबार १३:१३

 देउवा पक्षका नेताको जिम्मेवारी खोसिँदै : कृष्णप्रसाद सिटौलालाई हटाएर कमलादेवी पन्तलाई राष्ट्रिय सभामा दलको नेताको जिम्मेवारी 


काठमाडौँ, वैशाख १६ । नेपाली कांग्रेसभित्र नेतृत्व जिम्मेवारी फेरबदललाई लिएर विवाद चुलिँदै गएको छ। पार्टी सभापति गगन थापाले पूर्वाग्रहपूर्ण ढङ्गले जिम्मेवारी खोस्दै आफ्ना पक्षधरलाई प्राथमिकता दिएको आरोप उठ्न थालेको हो।

सोही क्रममा राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलालाई जिम्मेवारी हटाइएको छ। उहाँको स्थानमा कमलादेवी पन्तलाई नयाँ दलको नेताका रूपमा मनोनयन गरिएको पार्टीले जनाएको छ।

पार्टीभित्रका एकथरी नेताहरूले नेतृत्व परिवर्तनलाई स्वाभाविक प्रक्रिया माने पनि अर्को पक्षले यसलाई पूर्वाग्रहको आधारमा गरिएको निर्णयका रूपमा टिप्पणी गरेका छन्। विशेष गरी देउवा पक्षका नेताहरूको जिम्मेवारी घटाउँदै थापा निकट व्यक्तिहरूलाई अघि सारिएको आरोप सार्वजनिक रूपमा उठ्न थालेको छ।

कमलादेवी पन्त गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुनुहुन्छ र हाल ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’की सभापति रहनुभएको छ। उहाँलाई दलको नेताको जिम्मेवारी दिइएको निर्णयलाई पार्टीभित्र शक्ति सन्तुलन फेरबदलको सङ्केतका रूपमा समेत हेरिएको छ।