जनता टाइम्स

१६ बैशाख २०८३, बुधबार १३:३२

 आफूलाई माननिय भन्दै मपाईँत्व प्रदर्शन नगर्न रास्वपाका सांसदलाई रवि लामिछानेकाे निर्देशन 


काठमाडौँ, वैशाख १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई आधिकारिक कागजातमा एकरूपता कायम गर्न निर्देशन दिनुभएको छ। संसदीय दलको अनौपचारिक बैठकमा उहाँले लेटरहेड, परिचयपत्रलगायतका कागजातमा एउटै ढाँचा अपनाउन जोड दिनुभएको हो।

बैठकमा सभापति लामिछानेले आफ्ना कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्नसमेत निर्देशन दिनुभएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। उहाँका अनुसार पार्टीभित्र अझै सिक्ने प्रक्रिया जारी रहेको भन्दै सांसदहरूलाई मेन्टर र सल्लाहकारसँग निरन्तर परामर्श गर्न सुझाव दिइएको छ।

प्रवक्ता झाले ‘आगामी निर्वाचनलाई लक्षित गर्दै वैशाख २० गतेदेखि Candidate Club कार्यक्रममार्फत उम्मेदवार छनोट र पूर्वतयारीसम्बन्धी अभ्यास सुरु गरिने’ जानकारी दिनुभयो।

त्यसैगरी, कसैले पनि आगामी निर्वाचनको टिकटबारे कुनै प्रतिबद्धता नगर्न सभापति लामिछानेले स्पष्ट निर्देशन दिनुभएको छ। यदि त्यस्तो अभ्यास भेटिएमा सम्बन्धित व्यक्तिलाई कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

बैठक जारी रहेको जनाइएको छ। बैठकमा पार्टीका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्र साह भने उपस्थित हुनुभएकाे छैन ।