काठमाडौँ, वैशाख १६ । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ।
भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री सुनिल लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिङबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म करिब ८.२ किलोमिटर सडक तथा आवश्यक पुलहरू निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराउनेछ।
यसअघि पहिलो चरणअन्तर्गत कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार कार्य सन् २०१९ देखि सुरु भई सम्पन्न भइसकेको छ। दोस्रो चरण सुरु भएसँगै चक्रपथ विस्तारले थप गति लिने भएको छ ।
सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा देखिने समस्या छिटो समाधान गर्दै आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले उत्तर–दक्षिण सडक सञ्जाल विस्तार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै पूर्वाधार विकासमा चिनियाँ लगानी अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो।
चिनियाँ राजदूत माओमिङले नेपालमा उपयुक्त लगानी वातावरण सुनिश्चित भए थप चिनियाँ लगानीकर्ता आकर्षित हुन सक्ने धारणा राख्नुभयो।













प्रतिक्रिया दिनुहोस्