जनता टाइम्स

१६ बैशाख २०८३, बुधबार १६:३५

नेतृत्वविरुद्ध भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोपमा रामेछापका कांग्रेस सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ निलम्बित


काठमाडौं, वैशाख १६। नेपाली कांग्रेसले पार्टीका रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’लाई निलम्बन गरेको छ । पार्टी अनुशासन उल्लंघनको कसूरमा स्पष्टीकरण सोधिए पनि उहाँले दिएको जवाफ सन्तोषजनक र चित्तबुझ्दो नभएको ठहर गर्दै अनुशासन समितिको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो ।

कांग्रेस अनुशासन समितिका अनुसार उहाँले पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएको पाइएपछि स्पष्टीकरण सोधिएको थियो । तर, प्राप्त जवाफपछि पनि उठाइएका प्रश्नहरूको स्पष्ट र औचित्यपूर्ण स्पष्टीकरण नआएको निष्कर्ष निकालिएको समितिले जनाएको छ ।

समितिको निर्णयअनुसार अनुशासन उल्लंघनको अन्तिम निर्णय नहुँदासम्म उहाँलाई पार्टी जिम्मेवारीबाट निलम्बन गरिएको छ । यस अवधिमा उहाँको संगठनात्मक भूमिकासमेत स्थगित रहने जनाइएको छ ।

त्यसैगरी, पार्टीका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको विषयमा भने सर्वोच्च अदालतको फैसलापछि स्पष्टीकरण सोध्नुको औचित्य नरहेको कांग्रेसको निष्कर्ष छ । अदालतको निर्णयलाई आधार मान्दै सो विषयलाई थप अनुशासनात्मक प्रक्रियामा नलैजाने निर्णय गरिएको समितिले स्पष्ट पारेको छ ।

पार्टीभित्र अनुशासन र आचरणलाई कडाइका साथ कार्यान्वयन गर्ने नीति अनुसार आवश्यक कारबाही गरिएको कांग्रेसले जनाएको छ । अनुशासन समितिले पार्टी नेतृत्व र संगठनात्मक संरचनालाई कमजोर पार्ने कुनै पनि अभिव्यक्ति वा गतिविधिलाई गम्भीर रूपमा लिने स्पष्ट संकेतसमेत दिएको छ ।