जनता टाइम्स

१६ बैशाख २०८३, बुधबार १६:५७

अध्यादेशबारे सरकारको कदम ‘सुधारमुखी अभ्यास’ भएको रास्वपा सभापति लामिछानेको दाबी


काठमाडौं, वैशाख १६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले ल्याइरहेका अध्यादेशलाई सुधारमुखी र कानुनी दायराभित्रको अभ्यासका रूपमा व्याख्या गर्नुभएको छ ।

आज पार्टी संसदीय दलको बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा अध्यादेशलाई राजनीतिक स्वार्थ पूरा गर्ने वा विपक्षीलाई दबाबमा पार्ने माध्यमका रूपमा प्रयोग गरिएको भए पनि अहिलेको अभ्यास त्यसबाट फरक रहेको बताउनुभयो । उहाँका अनुसार हाल सरकारले अघि सारेका अध्यादेश कसैलाई दुःख दिन वा कसैलाई विशेष सुविधा दिन नभई आवश्यक संरचनागत सुधारका लागि ल्याइएका हुन् ।

उहाँले भन्नुभयो, ‘पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो, अहिलेको अभ्यास कसैलाई दुःख दिन वा कसैलाई सुविधा दिन होइन, आवश्यक सुधारका लागि हो, यो कानुनी दायराभित्र बसेर गरिएको अभ्यास हो।’

सभापति लामिछानेले रास्वपा कानुन, लोकतान्त्रिक मूल्य र राजनीतिक आचरणप्रति गम्भीर रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले संसदीय अभ्यासमा देखिएको सकारात्मक संकेतहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै प्रमुख प्रतिपक्षको प्रत्यक्ष दबाबबिना पनि केही निर्णयहरू भएका बताउनुभयाे । ‘विगतमा प्रधानमन्त्रीकै पार्टीका सांसद लेखा समिति सभापति बनेका धेरै उदाहरण छन्, हामी त्यो अभ्यास सच्याउन चाहन्थ्यौँ र इमानदार भएर अघि बढ्यौँ’, उहाँले भन्नुभयाे ।