जनता टाइम्स

१७ बैशाख २०८३, बिहीबार ०७:३७

संसद् छल्दै अध्यादेश ल्याएपछि विपक्षी एकजुट, आज फेरि बैठक


काठमाडौं, वैशाख १७। सरकारले संसद् बैठक राेकेर अध्यादेश ल्याएको विषयलाई लिएर विपक्षी दलहरूबीच असन्तुष्टि बढ्दै गएको छ। सोही विषयमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक आज पनि बस्ने भएको छ।

आज बिहान साढे ११ बजे नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा अध्यादेशप्रति साझा रणनीति तय गर्ने तथा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने जनाइएको छ।

यसअघि बुधबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठक भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त बैठकमा श्रम संस्कृति पार्टीबाहेक चार विपक्षी दल सहभागी भएका थिए।

संसद् बैठक अवरुद्ध भइरहेका बेला सरकारले अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले त्यसलाई ‘संसद् छल्ने प्रयास’को रूपमा व्याख्या गरेका छन्। उनीहरूले संवैधानिक अभ्यास र संसदीय प्रणालीको मर्मविपरीत सरकार अघि बढेको आरोप लगाएका छन्।

हिजोको बैठकमा समेत अध्यादेशमार्फत कानुन ल्याउने सरकारको कदमप्रति तीव्र असन्तुष्टि जनाउँदै संयुक्त विज्ञप्ति जारी गरिएकाे थियाे। विपक्षी दलहरूकाे आजको बैठकले आगामी आन्दोलन र संसदीय रणनीति तय गर्ने अपेक्षा गरिएको छ।