जनता टाइम्स

१७ बैशाख २०८३, बिहीबार ०८:३६

शक्तिशाली प्रधानमन्त्री बालेनकै आदेश कर्मचारीले अस्वीकार गरेपछि


काठमाडौं, वैशाख १७ । प्रधानमन्त्री बालेन्द्र साहलाई आफ्नै कर्मचारीले टेर्न छाडेकाे रहस्य खुलेकाे छ । स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा विवाद चर्किँदै जाँदा बालेन्द्र साह आफैँ हस्ताक्षर गर्न बाध्य भएको विवरण सार्वजनिक भएको छ।

प्रधानमन्त्री साहलाई आफ्नै सचिवालयका कर्मचारीले ‘टेर्न छाडेको’ अवस्थ प्रष्ट देखिएकाे छ । प्रधानमन्त्रीले निर्देशन दिएको कागजमा कर्मचारीहरूले हस्ताक्षर गर्न अस्वीकार गरेपछि उहाँ स्वयंले नै हस्ताक्षर गर्न थालेको बुझिएको छ।

यसअघि अन्य निकायलाई सचिवालय विस्तारका नाममा राज्यको भार नबढाउन तथा करारमा कर्मचारी नियुक्ति नगर्न निर्देशन दिनुभएका प्रधानमन्त्रीले आफ्नै सचिवालयमा भने धमाधम नियुक्ति प्रक्रिया अघि बढाउन थालेपछि आन्तरिक असन्तुष्टि बढेको बताइन्छ। यही कारण कर्मचारीहरूले ती कागजातमा हस्ताक्षर गर्न अस्वीकार गरेको स्रोतको दाबी छ।

कर्मचारीले हस्ताक्षर गर्न नमानेपछि प्रधानमन्त्री साहले आफैँ हस्ताक्षर गरेर स्वकीय सचिवालयका लागि एक अधिकृत नियुक्त गर्नुभएको छ। गोरखाका सुजन देवकोटालाई स्वकीय सचिवालयको अधिकृत पदमा नियुक्त गरिएको पत्रमा उहाँकै हस्ताक्षर रहेको छ।

यस घटनाले प्रधानमन्त्री कार्यालयभित्र समन्वय अभाव तथा प्रशासनिक असन्तुलनको संकेत गरेको भन्दै यसको राजनीतिक र प्रशासनिक प्रभावबारे चर्चा सुरु भएको छ।