जनता टाइम्स

२८ मंसिर २०७६, शनिबार १९:०९

मृत अवस्थामा भेटिए कलाकार दीपक क्षत्री


काठमाडौं, मंसिर २८

कलाकार दीपक क्षत्री मृत अवस्थामा आफ्नै कोठामा भेटिएका छन् । आफ्नै घरमा सुतेको अवस्थामा ५८ वर्षिय कलाकार क्षत्री शनिवार मृत भेटिएका हुन् । उनको शव अहिले महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।

पोस्टमार्टमको रिपोर्ट नआएसम्म मृत्युको कारण खुल्न नसक्ने प्रहरीले जानकारी दिएको छ । शुक्रबार साँझ एक फिल्मको स्वरांकन सकेपछि डिल्लीबजारस्थित घरको आफ्नो कोठाको चुक्कुल लगाएर सुतेका उनी शनिबार बिहान मृत भटिएका थिए । छोराले धेरै प्रयास गर्दा पनि कोठा नखुलेपछि प्रहरीलाई बोलाएर ढोका फोडेर हेर्दा उनलाई मृत अवस्थामा भेटिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । गत वर्ष स्वर नलीमा मासु पलाएका कारण स्वर गुमाएका कलाकार क्षेत्रीको केही समय अगाडि शल्यक्रिया गरिएको थियो । त्यसयता उनी स्वास्थ्य थिए ।

दर्जनौं नेपाली फिल्ममा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार क्षेत्रीले सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनले ‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका फिल्ममा अभिनय गरेका छन् ।