जनता टाइम्स

१७ बैशाख २०८३, बिहीबार १०:१८

सरकार निरङ्कुशताको बाटोमा अघि बढ्दै : प्रचण्ड


काठमाडौं, वैशाख १७। नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र साह नेतृत्वको वर्तमान सरकार निरङ्कुशताको बाटोमा अघि बढेको बताउनुभएकाे छ ।

बिहीबार रुकुम पश्चिमको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले ट्रेड युनियनदेखि विद्यार्थी संगठनसम्म खारेज गर्ने प्रयासमार्फत सरकारले निरंकुशता लाद्न खोजेको बताउनुभयो। साथै संसद् छलेर ल्याउन लागिएको अध्यादेश पनि त्यही प्रवृत्तिको संकेत भएको उहाँको भनाइ थियो।

‘सदनलाई छलेर अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन रोक्ने विधि लोकतन्त्रको विरुद्धमा छ,’ उहाँले भन्नुभयो, ‘यो संसदीय परम्पराको समेत विरुद्धमा छ, यस्तो अलोकतान्त्रिक विधि अपनाउनु संविधानविपरीत हो।’

उहाँले सुकुमबासीहरूको समस्या समाधानमा सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाउनुभयो। वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गरेर वा डोजर चलाएर गरिएको कार्य गलत भएको उहाँको टिप्पणी थियो।

‘यो तरिका ठीक छैन। यदि सुकुमबासीहरू गलत तरिकाले अतिक्रमण गरेर बसेका छन् भने पनि उनीहरूको वास्तविक अवस्था बुझेर छानबिन गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘तर सरकारले हतारो शैलीमा बल प्रयोग गर्‍यो।’

तत्कालीन माओवादी सरकारकै समयमा सुकुमबासी व्यवस्थापनका लागि अपार्टमेन्ट निर्माणको प्रयास गरिएको स्मरण गर्दै उहाँले त्यसबेला काम सम्पन्न हुन नसकेको उल्लेख गर्नुभयो। अहिले भने सेना र सशस्त्र प्रहरीसमेत परिचालन गरी हजारौँ परिवारलाई समस्यामा पारिएको उहाँको आरोप छ।