जनता टाइम्स

१७ बैशाख २०८३, बिहीबार १४:४६

नेपाली कांग्रेसमा शेखर कोइराला पक्षको निष्कर्ष : सदस्यता पुनः अद्यावधिक व्यवहारिक छैन


काठमाडौं, वैशाख १७।  नेपाली कांग्रेसकाे शेखर कोइराला पक्षले वर्तमान राजनीतिक तथा सांगठनिक अवस्थाबारे वाग्मती प्रदेशस्तरीय छलफल गरेको छ ।

आज बालुवाटारस्थित ओपेरा होटेलमा आयोजित उक्त छलफलमा वाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने कोइराला निकट नेताहरू सहभागी हुनुभएको थियो। देश र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै आगामी रणनीति तय गर्न सुझाव सङ्कलन गर्ने उद्देश्यले छलफल आयोजना गरिएको जनाइएको छ ।

छलफलमा सहभागी नेताहरूले पन्ध्रौँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरणको प्रक्रिया भइसकेको अवस्थामा पुनः अद्यावधिक गर्नु उपयुक्त नहुने धारणा राख्नुभएको छ । अहिले आएर सदस्यता अद्यावधिक व्यवहारिक छैन भन्ने निष्कर्ष  बैठकले निकालेको सहभागीहरूले बताउनुभयाे ।

सहभागी नेताले विशेष महाधिवेशनका कारण पार्टीभित्र एकता कमजोर बनेको टिप्पणी गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने जिम्मेवारी सभापति गगन थापाकै रहेको बताउनुभएको छ ।

पार्टीभित्र देखिएको आन्तरिक मतभेदका बिच आयोजित यो छलफललाई आगामी महाधिवेशन र संगठनात्मक दिशा निर्धारणसँग जोडेर महत्त्वपूर्ण रूपमा हेरिएको छ। यस अघि देउवा पक्षले पनि भेला गरी सदस्यता पुन:अभिलेखीकरणकाे विरोध जनाएको थियो ।