काठमाडौं, वैशाख १८। वरिष्ठ पत्रकार किशोर श्रेष्ठले संविधानको भावना विपरीत र राज्यका निकायहरूबिचको सन्तुलन (चेक एण्ड ब्यालेन्स) कमजोर पार्ने खालका कागजात राष्ट्रपतिबाट अनुमोदन हुनुनहुने धारणा राख्नु भएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको विचारमा अदालत, अख्तियार तथा मानव अधिकार आयोगजस्ता संवैधानिक निकायमाथि हस्तक्षेप हुने गरी ‘रातारात’ तयार पारेर पठाइने कागजातलाई जुनसुकै नाम दिइए पनि राष्ट्रपतिले सदर गर्नु उपयुक्त नहुने उल्लेख गर्नुभएको छ। “अरू स-साना पद भनेका तपसिलका विषय हुन्,” उहाँको भनाइ छ।
उहाँले पछिल्ला केही घटनाक्रमलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै प्रश्नसमेत उठाउनुभएको छ। भदौ २३–२४ को घटनासँग सम्बन्धित राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक हुने पूर्वनिर्धारित मिति वैशाख १६ मा अचानक स्थगित हुनु, अध्यक्ष तपबहादुर मगरको स्वास्थ्य अवस्थालाई कारण देखाइएको प्रसङ्ग, तथा फागुन १८ भित्र टुङ्गिनुपर्ने प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया दुई महिना बित्दा पनि पूरा नहुनु उहाँले उल्लेख गर्नुभएको छ।
त्यसैगरी, आह्वान गरिएको संसदीय अधिवेशन २४ घण्टामै स्थगित गरिएको, प्रतिनिधिसभामा विश्वासको वातावरण नदेखिएको जस्तो गरी हतारमा अध्यादेश ल्याउने प्रयास भएको भन्दै उहाँले प्रश्न गर्नुभएको छ। ‘भदौ २३-२४ को घटना केन्द्रित अस्ति वैशाख १६ गते बुधवार सार्वजनिक हुने पूर्वनिर्धारित मानव अधिकार आयोगको प्रतिवेदन अध्यक्ष तपबहादुर मगरलाई ठेउला उठाएर हठात् रोकिनु,फागुन १८ मै टुङ्गो लागिसक्नुपर्ने प्रधानन्यायाधीश दुई महिनासम्म पनि नियुक्ति नहुनु,डाकिएको संसदीय अधिवेशन २४ घण्टामै स्थगित गरिनु र आफ्नैनिम्ति कम्फर्टेबल प्रतिनिधिसभा र आफ्ना युवा माननीयहरूप्रति समेत विश्वास नभए जसरी हतार हतार अध्यादेश ल्याउन खोज्नुका कथा अनेक छन्, छिटो गर्ने हुटहुटी आफ्नो ठाउँमा छ, त्यसका पनि विधि र प्रक्रिया छन्, भत्काउनेभन्दा बनाउनेतिर लाग्ने बेलामा सोमवारको क्याबिनेट निर्णयका ३ बुँदामै नसमेटिएको अध्यादेश भोलिपल्ट कसरी फुत्त शीतल निवास पुग्यो ? जवाफ त जनताले बिस्तारै पाउनै पर्ने होला’, उहाँको भनाइ छ ।
उहाँले सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जालमा बढ्दो आक्रोशप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमित हुन आग्रह पनि गर्नुभएको छ। ‘खुरुखुरु ल्याप्चे लाइदिए वाह राष्ट्रपति,यो कुरा अलिकति मिलेन भन्नासाथ तँ औषधी उपचारको पैसा राज्य कोषबाट लिने लोभी बाहुन रामचन्द्र ? यसरी नै सामाजिक सञ्जाल रङ्गाउन थालियो भने मिडियाले पनि त हिजो लेखे बोलेका विषयगत भिडियो कोट्याउन र केलाउन थाल्लान्, अनि कसले,कसलाई के भनेर दोष दिने ? सबैले संयमित होऊँ,माथि पुगेकाले झन् सुपाच्य बोली र नम्र व्यवहार गरौँ’, श्रेष्ठको सुझाव छ ।
श्रेष्ठले तथ्यमा आधारित बहसलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको छ। ‘नेपालीको मन विशाल भए पनि नेपाल देश उत्पातै ठुलो पनि होइन, वरपर नातापाता,साथीभाइ को कता पुगे-चिनिएकै हुन्छ, तथ्यमा नटेकी बतासे गालीमा रमाउनेका पनि झन् धेरै कागजात फेला पर्लान्, एकोहोरो हान्छु मार्छु मात्रै भन्नेलाई हस् हजुर आइस्यो भनेर अहिलेको जुगमा कसैले पनि स्वीकृतिको स्वस्ति वाचन गरिनरहलान् । लुगैसहित त कसले पो नुहाउला र !’, उहाँको चेतावनी छ ।













प्रतिक्रिया दिनुहोस्