जनता टाइम्स

१८ बैशाख २०८३, शुक्रबार ०९:४६

एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा बुद्ध जयन्तीको शुभकामना : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाऔँ


काठमाडौं, वैशाख १८। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपाली तथा विश्व समुदायमा शान्ति, सहिष्णुता र मैत्रीभावको कामना गर्नुभएको छ।

उहाँले आजभन्दा करिब २६५० वर्षअघि यसै पावन दिनमा शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्म भई मानव इतिहासले करुणाको उज्यालो देखेको उल्लेख गर्नुभएको छ। साथै, यही दिन उहाँले बोध प्राप्त गरी भगवान् गौतम बुद्धका रूपमा मानव सभ्यतामा मार्गदर्शक भूमिका निर्वाह गर्नुभएको पनि स्मरण गर्नुभएको छ।

अध्यक्ष ओलीले करिब २५७० वर्षअघि यही दिन गौतम बुद्ध महापरिनिर्वाणमा विलीन हुनुभएको उल्लेख गर्दै बुद्धको जीवन दर्शनले मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्‍याएको बताउनुभएको छ।

उहाँले बुद्ध जयन्तीको अवसरमा देशभित्र र विश्वभर परस्पर शान्ति, सहिष्णुता र मैत्रीभाव कायम रहोस् भन्ने कामना व्यक्त गर्नुभएको छ। “मानव सभ्यतालाई शाश्वत सन्देश प्रवाह गर्ने यस दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु,” उहाँले भन्नुभएको छ।

अध्यक्ष ओलीले सबैको अन्तर्मनमा करुणाको दीप प्रज्वलित होस् भन्ने कामना समेत गर्नुभएको छ।