जनता टाइम्स

१८ बैशाख २०८३, शुक्रबार १०:३२

बुद्ध जयन्तीकाे अवसरमा प्रधानमन्त्री बालेन्द्र साहको सन्देश : ज्ञानको उज्यालोबाटै दुःख निवारण सम्भव


काठमाडौं, वैशाख १८। प्रधानमन्त्री बालेन्द्र साहले बुद्ध जयन्तीको अवसरमा ज्ञान, शान्ति र अहिंसाको मार्ग अनुसरण गर्न आह्वान गर्नुभएको छ।

उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा गौतम बुद्धका उपदेश उद्धृत गर्दै ‘दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारण गर्ने मार्ग छ’ भन्ने सन्देश मानव जीवनका लागि मार्गदर्शक रहेको उल्लेख गर्नुभएको छ।

मेयर साहले बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको मार्ग भएको बताउँदै उज्यालो र अँध्यारोको उदाहरण प्रस्तुत गर्नुभएको छ। “उज्यालोको अभाव नै अँध्यारो हो, जब ज्ञानको उज्यालो फैलिन्छ, अँध्यारो स्वतः हट्छ,” उहाँले उल्लेख गर्नुभएको छ।

उहाँले समाजको यात्रा ज्ञान र समाधानतर्फ उन्मुख हुनुपर्नेमा जोड दिँदै बुद्धको शिक्षाले मानव सभ्यतालाई शान्ति र सहअस्तित्वको मार्गमा डोर्‍याएको बताउनुभएको छ। “शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीका अवसरमा विश्वशान्तिको कामना गर्दछु,” उहाँले भन्नुभएको छ।

साहले नेपाल बुद्धको जन्मभूमि भएकाले देश सधैँ अहिंसा र शान्तिको पक्षमा उभिनुपर्ने धारणा राख्नुभएको छ। साथै, “साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो,” भन्दै उहाँले ज्ञानलाई परिवर्तनको मूल आधारका रूपमा व्याख्या गर्नुभएको छ।

बुद्ध जयन्तीको अवसरमा उहाँले सम्पूर्णमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै ‘अप्प दीपो भवः’ अर्थात् ‘आफैँ प्रकाश बन’ भन्ने सन्देशसमेत दिनुभएको छ।