जनता टाइम्स

१८ बैशाख २०८३, शुक्रबार १०:५१

श्रमिक दिवसकाे अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सन्देश: श्रमिकको अधिकार र सामाजिक सुरक्षामा राज्य प्रतिबद्ध हुनुपर्छ


काठमाडौं, वैशाख १८। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, श्रमिकको अधिकार र सामाजिक न्यायप्रति राज्यको जिम्मेवारी अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभएको छ।

उहाँले १३७ वर्षअघि मे १ बाट सुरु भएको श्रमिक आन्दोलनले श्रमको मूल्य, मर्यादा र अधिकारको संघर्षमार्फत विश्वलाई महत्वपूर्ण पाठ सिकाएको उल्लेख गर्नुभएको छ। रोजगारदातासँग संवाद र सामूहिक सौदाबाजीमार्फत श्रमिक वर्गका हक स्थापित भएको ऐतिहासिक सन्दर्भसमेत उहाँले स्मरण गर्नुभएको छ।

अध्यक्ष ओलीले नेपालको संविधानले पनि काम गर्ने वर्ग र काम गराउने वर्गबीच सन्तुलन कायम गर्ने निर्देशक सिद्धान्त अंगीकार गरेको उल्लेख गर्दै सरकारमा रहँदा त्रिपक्षीय सहकार्यमा आधारित सामाजिक सुरक्षा प्रणाली अघि बढाइएको बताउनुभएको छ।

उहाँका अनुसार श्रमिक, रोजगारदाता र राज्यबीचको सन्तुलित सहकार्यले नै दीगो आर्थिक विकास सम्भव हुन्छ। “रोजगारी बढोस्, उद्योग चलोस्, श्रमिक सुरक्षित रहून् र नाफाको न्यायोचित वितरण होस्,” भन्ने दृष्टिकोणका साथ नीतिगत प्रयास गरिएको उहाँले उल्लेख गर्नुभएको छ।

उहाँले राज्यले मानव गरिमाको रक्षा गर्न श्रमिकको सुरक्षा र सम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै श्रमिकका विश्वव्यापी अधिकार सुनिश्चित हुनु अनिवार्य भएको बताउनुभएको छ।

अध्यक्ष ओलीले संविधानले निर्देश गरेको सीमाभित्र रहेर श्रमिक–रोजगारदाता–राज्यबीच संवाद, सहकार्य र सहअस्तित्वको बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। “जहाँ श्रमिक सम्मानित हुन्छ, त्यहीँ समाज समृद्ध हुन्छ,” भन्दै उहाँले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।