काठमाडौं, वैशाख १८। काठमाडौं उपत्यकामा नदी किनार तथा अतिक्रमित सार्वजनिक जग्गामा बनेका सुकुमबासी बस्ती खाली गराउने सरकारी अभियानअन्तर्गत दोस्रो चरणको कारबाही सुरु गरिएको छ।
आजदेखि वाग्मती करिडोर अन्तर्गत बल्खु क्षेत्रमा घरटहरा भत्काउने काम थालिएको छ। उक्त क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ भने बस्तीमा बसोबास गर्ने स्थानीयले आफ्ना सामानहरू सारिरहेका दृश्य देखिएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना जारी गर्दै सम्बन्धित बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो।
सरकारी योजनाअनुसार आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु र माछापोखरीलगायतका क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउने तयारी गरिएको छ।
यसअघि पहिलो चरणअन्तर्गत सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रमा रहेका बस्तीहरू खाली गरिसकिएको प्रशासनले जनाएको छ।
सरकारले उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यसहित अभियानलाई क्रमिक रूपमा अघि बढाएकाे जनाएकाे छ ।













प्रतिक्रिया दिनुहोस्