जनता टाइम्स

१८ बैशाख २०८३, शुक्रबार १४:२५

विद्या भण्डारीको उद्घोष : म एमालेमै छु, सदस्यता होल्डमा छ


काठमाडौं, वैशाख १८ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेकै सदस्य रहेको र सदस्यता होल्डमा भएको बताउनु भएको छ ।

आफूले नेकपा एमालेको सदस्य नवीकरण गरिसकेको भए पनि अहिले होल्डमा रहेको पूर्वउपाध्यक्षसमेत रहनुभएकी भण्डारीले बताउनु भएको हो । नुवाकोट भ्रमणको क्रममा भण्डारीले पार्टीका नेता कार्यकर्तासँग कुरा गर्दै एमाले देशभक्त र राष्ट्रवादीहरूको सङ्गठन भएको र आफू एमालेमै रहेको बताउनु भयो ।

‘एमाले देशभक्त र राष्ट्रवादीहरूको सङ्गठन हो, प्रगतिशीलहरूको, सामाजिक न्यायका पक्षधरहरूको सङ्गठन हो,’ भण्डारीले भन्नुभयो, ‘म अनेक हिसाबले जोडिएको छु, तपाईँहरूले माने पनि नमाने पनि मैले एमालेको मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अहिले होल्डमा छ ।’ उहाँले आफू एमालेको हिजोको पार्टी सदस्य रहेको भन्दै आज पनि रहेको जिकिर गर्नुभयो ।

‘म २०३७ सालको पार्टी सदस्य हो । अहिले एमाले हुँ, त्यतिखेर माले थियो, माले हुँदै एमाले भएको हो । एमालेले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा लिएको छ, त्यसको जस मदन भण्डारीलाई जान्छ । मदन भण्डारीको म श्रीमतीको नाताले पनि तपाईँहरू मलाई सम्झिनुहुन्छ । एमालेको नाम सँगसँगै जबज, जबजसँगसँगै मदन भण्डारी र त्यससँगै अनेक हिसाबले म जोडिएको छु,’ भण्डारीले भन्नुभयो ।