जनता टाइम्स

१८ बैशाख २०८३, शुक्रबार १५:२९

सरकारले जनताको बासको अधिकार खोस्दै छ : माधवकुमार नेपाल  


काठमाडौं, वैशाख १८। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले जनताको आधारभूत अधिकारमाथि हस्तक्षेप गर्न थालेको आरोप लगाउनुभएको छ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले बालेन्द्र साह नेतृत्वको सरकारले वास्तविक सुकुमबासीको पहिचान नगरी डोजर चलाएकोप्रति आपत्ति जनाउनुभयो। उहाँले वैकल्पिक व्यवस्था नगरी बस्ती हटाउने कार्य अस्वीकार्य भएको बताउँदै भन्नुभयो, “सुकुमबासीको पहिचान नगरी, वैकल्पिक व्यवस्था नै नगरी दमन गर्ने कामलाई जायज भन्न सकिँदैन, यो सरकारले एकपछि अर्को गर्दै जनविरोधी काम गरिरहेको छ, जनताको बास बस्ने अधिकार खोसिरहेको छ।”

नेता नेपालले सरकारको प्रारम्भिक गतिविधिबाटै सकारात्मक संकेत नदेखिएको टिप्पणी गर्नुभयो। उहाँले भावना मात्र पवित्र भएर नपुग्ने र त्यसअनुसारका कदम पनि उचित हुनुपर्नेमा जोड दिनुभयो। “भावना पवित्र छ भने चाल्ने कदम पनि उचित र जायज हुनुपर्छ, नाजायज होइन,” उहाँले भन्नुभयो, “अहिले नै आरोप मात्र लगाउने पक्षमा छैनौँ, सरकारलाई मौका दिन चाहन्छौँ, तर जनविरोधी काम नगर्नुस्।”

उहाँले सरकारलाई सचेत रहन आग्रह गर्दै जनताको अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।