काठमाडौं, वैशाख १८। सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाउन लागे पछि धमाधम सुकुम्वासीले आत्महत्या गर्न लागेका छन् ।
आज पनि काठमाडौंको बल्खुस्थित सुकुम्वासी बस्तीमा एक पुरुषले वाग्मती नदीमा हाम फालेर आत्महत्या गरेका छन् । सरकारले डोजर चलाएर बस्ती हटाउने क्रममा घरटहरा भत्काइएपछि त्यहाँ बसोबास गर्दै आएका ती पुरुषले शुक्रबार नदीमा हाम फालेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी टोलीले उनको शव वाग्मती नदीबाट बाहिर निकालेको छ ।
प्रहरीका अनुसार बस्तीमा सामान सार्दै गरेका उनले अचानक नदीमा हाम फालेका थिए। उनी ५५/६० वर्षका इन्द्रबहादुर राई भन्ने व्यक्ति भएकाे बुझिएकाे छ । यसअघि पनि थापाथली सुकुम्वासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो। लगातार यस्ता घटनाहरू दोहोरिन थालेपछि बस्ती विस्थापनको प्रक्रियाले सुकुम्वासी समुदायमा गहिरो मानसिक तनाव र निराशा बढाएको देखिएको छ ।
सरकारले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत उपत्यकाका विभिन्न स्थानमा डोजर चलाउँदै आएको छ। तर वैकल्पिक व्यवस्था, पुनर्वास र मानवीय पक्षको पर्याप्त ध्यान नदिएको भन्दै आलोचना भइरहेको छ।
यस्ता घटनापछि बस्ती हटाउने प्रक्रियामा राज्यको जिम्मेवारी, पुनर्स्थापनाको नीति र संवेदनशीलता सम्बन्धी प्रश्नहरू थप तीव्र रूपमा उठ्न थालेका छन्। उनीहरूको मृत्युको जिम्मा सरकारले लिनु पर्ने माग उठ्न लागेको छ ।













प्रतिक्रिया दिनुहोस्