काठमाडौं, बैशाख १८ । चुपचाप घन्टी छापको नारा दिएर चुनाव जितेको राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले महिनादिनभित्रै दुई नागरिकको इहलिला समाप्त पारिदिएको छ ।
जनताले मतदान गरेकै भत्काउनका लागि हो भन्ने ठहरका साथ बालेन सरकारले बैशाख १२ गतेबाट सुकुम्वासी बस्तीमा डोजर आतंक मच्चाउँदा दुई जनाले आत्महत्याको बाटो रोजेका हुन ।सरकारले थापाथली सुकुम्वासी बस्तीमा डोजर चलाउँदा १७ बर्षीय किशोर रविन तामाङले आत्महत्याको बाटो रोजे ।
रविनले बैशाख १४ गते बालेन सरकारले जीवनको सवै आधार खोस्यो भन्दै आत्महत्याको बाटो रोजे । त्यसको चार दिनपछि आज बल्खूको सुकुम्वासी बस्तीमा एक बृद्धले जीवन समाप्त पारेका छन । अन्दाजी ६१ बर्षीय बृद्ध इन्द्रबहादुर तामाङले बालेन सरकारको आतंकको सामना गर्न नसकेर जीवन नै समाप्त पार्ने निर्णय लिएका हुन । डोजरले बस्ती भत्काउने क्रममा खोलामा शव बगिरहेको अवस्थामा प्रहरीले फेला पारेपछि राईले बालेन सरकारको आतंकसामू आत्मसमर्पण नगरी जीवन नै त्यागेको तथ्य उजागर भएको हो ।
बालेन सरकारले आज शुक्रवार बल्खुमा सुकुम्वासी बस्ती खाली गरेको हो । सरकारले घरवारबिहीन बनाएरै छाडने घोषणासहित युद्ध अपराधीलाई जस्तो ब्यवहार गरेर सेना र पुलिससहित जोडर पठाएको दृष्यले आतंकित बनेका राई शुक्रवार बिहानैदेखि ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै निस्किएका थिए । छिमेकीको भनाई अनुसार घरबाट निस्किएका इन्द्रको एकैपटक लास भेटियो । उनी डोजर चलाईरहँदा दिउँसो बल्खु खोलामा मृत फेला परेका हुन ।
बालेन सरकारले शुक्रवार बिहानै उनको घर भत्काएको थियो । मृतककी पत्नी सरिता राईले घटनास्थलमा दिएको जानकारी अनुसार बिहानैदेखि इन्द्र निकै आतंकित बन्नुभएको थियो । ‘बिहान डोजरले घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किनुभएको थियो । अहिले यस्तो अवस्थामा भेटिनुभयो,’ आँखाबाट आँसुको धारा बगाउँदै बस्नुभएकी इन्द्रकी पत्नी सरिताले भन्नुभयो । इन्द्रको परिवार बल्खुको सुकुम्वासी बस्तीमा १६-१७ वर्षदेखि बस्दै आएको स्थानीयवासीले जानकारी दिएका छन ।

उनीहरूका अनुसार इन्द्र बल्खुस्थित सब्जीमण्डीमा काम गर्ने गरेका थिए । बालेन सरकारको डोजर आतंकको शिकार हुने इन्द्र दोस्रो हुन । यसअघि बैशाख १४ गते १७ वर्षीय रबिन तामाङले आत्महत्या गरेका थिए । रबिनका पिता हस्तबहादुर तामाङका अनुसार घरमा जोडर लागेपछि उनले आत्महत्याको बाटो रोजेका हुन । आर्थिक रूपमा अत्यन्तै जर्जर अवस्थामा रहेको रविको परिवारको आश्रयस्थल पनि सरकारले खोसिदिएपछि निरासाले जीवन त्याग्न पुगेका थिए ।
आत्महत्या गरी जीवन समाप्त पारेका रविनकी आमा दमको दीर्घरोगी, हजुरआमा पक्षघातका कारण ओछ्यानमै थला परेकी छन भने हजुरबुबा मुटुको गम्भीर रोगी हुन । यस्तो नाजुक अवस्थामा रहेको परिवारलाई सरकारले विना विकल्प दुई दिनभित्र बासस्थान छोड्न आदेश दिएपछि १७ वर्षकै कलिलो उमेरमा रबिनले जीवन समाप्त पार्ने बाटो रोजेका थिए ।
चार दिनको अन्तरालमा बालेन सरकारको कारण जीवन त्यागेका दुई नागरिकको घटनालाई राज्यबाट गरिएको हत्याका रुपमा नागरिक अगुवाहरूले लिएका छन । राज्य नै लागेर नागरिकको जीवन समाप्त पार्ने यस घटनाको बिषयमा अहिलेसम्म मानव अधिकारवादी संस्थाहरू भने चुपचाप बसेका छन । बिगतमा सामान्य घटना हुँदा पनि नारा जुलुसमा उत्रने मानवअधिकारवादी संस्थाहरू बालेन सरकारसँग त्रसित भएर चुपचाप बसेको अनुमान रहेको छ ।













प्रतिक्रिया दिनुहोस्