जनता टाइम्स

१९ बैशाख २०८३, शनिबार ०८:५७

सुकुम्वासी बस्तीमा डोजर लगाएको प्रति रास्वपाकै सांसदको असन्तुष्टि : विस्थापन होइन, सुरक्षित व्यवस्थापन आवश्यक


काठमाडौं, वैशाख १९ । सरकारले  सुकुम्वासी बस्तीमा डाेजर लगाएका प्रति रास्वपाकै सांसदको असन्तुष्टि व्यक्त गर्न लाग्नु भएको छ ।

रास्वपा सांसद मनिष खनालले सुकुम्वासी तथा अव्यवस्थित बसोबास व्यवस्थापनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै ‘विस्थापन होइन, सुरक्षित व्यवस्थापन’को अवधारणालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । उहाँले उक्त घटनालाई दुःखद भन्दै यसले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ । राज्यका लागि हरेक नागरिकको जीवन र आत्मसम्मान अत्यन्त महत्त्वपूर्ण विषय भएको उहाँको भनाइ छ ।

खनालले बस्ती व्यवस्थापनका क्रममा बालबालिकाको शिक्षा, नागरिकको स्वास्थ्य तथा परिवारले भोग्नुपर्ने मानसिक तनावप्रति थप संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याउनुभएकाे छ । ‘हामी आज जुन जिम्मेवारीमा छौँ, त्यो नागरिकको विश्वास र भरोसाकै कारण सम्भव भएको हो भन्ने तथ्यलाई सधैँ हृदयमा राख्नुपर्छ,’ उहाँले भन्नुभएको छ ।

उहाँले सरकारका प्रयासहरूबाट कुनै पनि नागरिक पीडित नहोस् र सबैको आत्मसम्मानको रक्षा होस् भन्नेमा सचेत रहनुपर्नेमा जोड दिनुभएको छ । सुरक्षित बसोबासको लक्ष्य कार्यान्वयन गर्दा न्याय मात्र होइन, न्याय भएको अनुभूति पनि नागरिकले गर्न पाउनुपर्ने उहाँको धारणा छ । ‘हाम्रा प्रयासहरूले कोही पनि नागरिकलाई पीडा नहोस् र सबैको आत्मसम्मानको रक्षा होस् भन्नेमा हामी सचेत छौँ- रहौँ, सुरक्षित बसोबासको लक्ष्य बोकेको सरकारले यसको व्यावहारिक कार्यान्वयन गर्दा न्याय गरेर मात्र पुग्दैन, न्याय भएको आभास पनि हुनुपर्छ,’उहाँको धारणा छ ।

सरकारले सबै नागरिकप्रति समान दृष्टि राखेर सजगता अपनाउने विश्वास व्यक्त गर्दै उहाँले ज्यान गुमाएका सुकुम्वासी बस्तीका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।