काठमाडौं, वैशाख १९। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने क्रममा पर्याप्त सूचना र समय नदिइएकोप्रति आपत्ति जनाउँदै हतार–हतार गरिएको कदम अमानवीय र अव्यवहारिक भएको बताउनुभएको छ ।
उहाँले पर्याप्त तयारी र सूचना बिना डोजर प्रयोग गर्नुले राज्यको मानवीय संवेदनशीलता कमजोर भएको सन्देश दिएको उल्लेख गर्नुभयो । साथै, सुकुम्वासी बस्तीमा ‘सुकुम्वासी होइन, हुकुम्बासी मात्र छन्’ भन्ने प्रचार गलत भएको दाबी गर्दै वास्तविक सुकुम्वासीको पहिचान गरी पुनर्स्थापनाको विकल्प तयार भएपछि मात्रै हटाउनुपर्नेमा जोड दिनुभयो ।
पाल्पा क्षेत्र नं. १ बाट सन्दीप राना निर्वाचित हुनुभएकोमा बधाई तथा शुभकामना दिन आयोजना कार्यक्रममा उहाँले वर्तमान राजनीतिक सन्दर्भमा कांग्रेस सांसदहरूको भूमिका अझ जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले सांसद रानालाई सक्रिय, अनुकरणीय र देखिने भूमिकामा प्रस्तुत हुन शुभकामना व्यक्त गर्नुभयो । ‘झण्डै दुई तिहाइको सरकार छ, त्यसले कतिपय गलत कामलाई पनि संख्याको बलमा जबरजस्ती गर्न सक्छ, त्यसको डटेर सामना गर्नुपर्छ र जनतालाई बुझाउन सक्नुपर्छ,’ उहाँले भन्नुभयो ।
महामन्त्री पौडेलले संवैधानिक परिषद्को संरचना सर्वपक्षीय र सन्तुलित हुनुपर्ने उल्लेख गर्दै एकपक्षीय ढंगले पुनर्संरचना गर्नु राज्यको आधारभूत मर्म विपरीत भएको तर्क गर्नुभयो । लोकतान्त्रिक मूल्य–मान्यता र राज्यका आधारभूत सिद्धान्तलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।













प्रतिक्रिया दिनुहोस्