जनता टाइम्स

१९ बैशाख २०८३, शनिबार २१:१४

प्रदीप ज्ञवालीको प्रश्न : बागमतीमा बगेको सुकुम्वासीका आँसुले नेपाल हाँसेको देखिन्छ र प्रधानमन्त्रीज्यू ?


काठमाडौं, वैशाख १९ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले सुकुम्वासी बस्ती हटाउने सरकारको कदमप्रति गम्भीर आपत्ति जनाउनु भएको छ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री  बालेन साहलाई लक्षित गर्दै ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने नाराको सन्दर्भमा प्रश्न उठाउनुभयो। उहाँले बागमती किनारमा भइरहेको अवस्थालाई उल्लेख गर्दै ‘बागमतीको किनारमा बगिरहेको आँसुले नेपाल हाँसिरहेको देखिन्छ कि नेपाल रोइरहेको ?’ भनी प्रश्न गर्नुभयो।

उहाँले सुकुम्वासी व्यवस्थापनमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वास्तविक सुकुम्वासीको पहिचान नगरी डोजर चलाइएको टिप्पणी गर्नुभयो। ‘खराब मान्छेहरू होलान्, स्क्रिन गर्न सकिने ठाउँ थियो नि,’ उहाँले भन्नुभयो, ‘थापाथलीमा हजारभन्दा बढी नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना समेत परिचालन गरिएको देख्दा अचम्म लाग्यो।’

ज्ञवालीले सुकुम्वासी समस्या समाधानका लागि व्यवस्थित र मानवीय दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै हालको शैलीले राम्रो सन्देश नदिएको बताउनुभयो।

यसैबीच उहाँले तराई–मधेस क्षेत्रमा देखिएका साना व्यापार र सीमावर्ती गतिविधिसम्बन्धी समस्याले नेपाल–भारत सम्बन्धमा समेत असर पार्न सक्ने चिन्ता व्यक्त गर्नुभयो। उहाँका अनुसार सीमावर्ती क्षेत्रमा साना आर्थिक क्रियाकलापमा अवरोध आउँदा ‘पिपल टु पिपल कनेक्सन’ प्रभावित हुनसक्छ।

‘नेपाल–भारत सम्बन्धको एउटा महत्त्वपूर्ण पक्ष नै जनस्तरको सम्बन्ध हो,’ उहाँले भन्नुभयो, ‘मधेसका जिल्लाबाट आएका प्रतिनिधिहरूले पनि साना कारोबारमै समस्या देखिएको बताएका छन्, यसले दीर्घकालीन रूपमा सम्बन्धमा असर पार्न सक्छ।’