काठमाडौं, वैशाख १९ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका घटना उल्लेखनीय रूपमा बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।
विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३, २०२६) का अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष शर्माले २०२५ मे ४ देखि २०२६ अप्रिल ३० सम्म १ सय ३१ वटा प्रेस स्वतन्त्रता हननका घटना अभिलेख भएको जानकारी दिनुभयो। अघिल्लो वर्ष ७३ र त्यसअघिको वर्ष ६२ वटा घटना रहेको उल्लेख गर्दै उहाँले घटनाको बढ्दो प्रवृत्तिले लोकतान्त्रिक अभ्यासमाथि नै प्रश्न उठाएको बताउनुभयो।
उहाँका अनुसार अभिलेख गरिएका घटनामध्ये पत्रकारमाथि दुर्व्यवहार तथा धम्कीका ५१, सञ्चार सामग्रीमाथि आक्रमणका ३०, पेशागत असुरक्षाका १८, कब्जा तथा अवरोधका २६ घटना रहेका छन्। त्यस्तै नीतिगत बन्देजका ३, पत्रकार पक्राउका २ र एक पत्रकारको शंकास्पद मृत्युको घटना समेत भएको जनाइएको छ।
अध्यक्ष शर्माले लोकतान्त्रिक संविधान लागू भएको एक दशक बितिसक्दा पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निरन्तर संकुचन देखिनु ‘गम्भीर चिन्ताको विषय’ भएको बताउनुभएकाे छ। उहाँले राज्यका विभिन्न तह वा अन्य शक्तिहरूबाट हुने हस्तक्षेपविरुद्ध महासंघ सशक्त रूपमा उभिँदै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो।
यस वर्षको दिवस ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ नारासहित मनाइँदै छ। UNESCO ले जाम्बियाको लुसाकामा विशेष कार्यक्रम आयोजना गर्दैछ भने International Federation of Journalists ले पेरिसमा हुने महाधिवेशनका क्रममा दिवस मनाउने जनाएको छ।
नेपालमा पनि महासंघले विभिन्न पेशागत संगठनको सहभागितामा माइतीघर मण्डलाबाट र्याली आयोजना गर्ने तयारी गरेको जनाएको छ। पछिल्लो समय सरकारी विज्ञापन वितरणमा विभेद, लोककल्याणकारी विज्ञापनको संकुचन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रणका प्रयासहरू बढेको महासंघको ठहर छ।
वक्तव्यमा २०८२ भदौ २३ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा २६ वटा प्रेस स्वतन्त्रता हननका घटना भएको उल्लेख छ । जसबाट एक सयभन्दा बढी पत्रकार तथा सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका थिए। आन्दोलनका क्रममा सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड हुँदा संस्थागततर्फ करिब ६० करोड रुपैयाँ र निजी सम्पत्तितर्फ करिब १८ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए।
नीतिगत तहमा पनि सञ्चारसम्बन्धी विभिन्न विधेयक-मिडिया काउन्सिल, सामाजिक सञ्जाल नियमन र सूचना प्रविधि ऐन प्रेस स्वतन्त्रता सीमित गर्ने खालका भएको महासंघको भनाइ छ। त्यसैगरी छापाखाना तथा प्रकाशनसम्बन्धी नियमावलीका केही प्रावधान पनि स्वतन्त्रतामाथि असर पार्ने देखिएको उल्लेख गरिएको छ।
अध्यक्ष शर्माले सञ्चार क्षेत्रको आर्थिक संकट, पत्रकार पलायन, दण्डहीनता, सरकारी विज्ञापनमा रोक तथा सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचनालाई प्रमुख चुनौतीका रूपमा औंल्याउनुभएकाे छ। हालको नयाँ सरकारप्रति पनि संविधानमा सुनिश्चित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनेमा महासंघ सशंकित रहेको उहाँको भनाइ छ।
शुभकामना सन्देशमार्फत उहाँले सम्पूर्ण सञ्चारकर्मी, अभिव्यक्ति स्वतन्त्रताका पक्षधर तथा नागरिक अगुवालाई एकताबद्ध भएर प्रेस स्वतन्त्रताको रक्षा गर्न आह्वान गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्