काठमाडौं, वैशाख १९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश संसदीय दलले सुकुम्वासी बस्ती हटाउने क्रममा सरकारले अपनाएको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै कडा भर्त्सना गरेको छ।
दलका नेता जगन्नाथ थपलियाद्वारा जारी प्रेस विज्ञप्तिमा वर्तमान सरकारले पर्याप्त पूर्वसूचना विना नै सुकुम्वासी बस्तीमा ‘डोजर आतङ्क’ मच्चाएको बताइएको छ। विज्ञप्तिमा कतिपय स्थानमा १–२ दिन, कतै एक घण्टासमेत सूचना दिएर बस्ती भत्काइएको उल्लेख गर्दै यसले भूमिहीन सुकुम्वासीहरूलाई जबरजस्ती आवासविहीन बनाएको जनाइएको छ।
विज्ञप्तिमा बस्ती हटाइएपछि व्यवस्थापनका लागि तोकिएका दशरथ रङ्गशाला लगायतका स्थानमा समेत खान र बस्न उचित व्यवस्था नगरी अमानवीय व्यवहार गरिएको आरोप लगाइएको छ। यसका कारण बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिला तथा रोगीहरू थप पीडित बनेको उल्लेख गरिएको छ।
दलले उक्त परिस्थितिका कारण दुई जनाले आत्महत्या गर्नुपरेको दाबी गर्दै यसले राज्यको गैरजिम्मेवारीपन र ‘पाशविक व्यवहार’ उजागर गरेको जनाएको छ।
विज्ञप्तिमा वर्तमान सरकारको कार्यशैलीलाई पञ्चायतकालीन निरंकुशतालाई समेत बिर्साउने खालको भएको टिप्पणी गर्दै घोर निन्दा गरिएको छ। साथै भूमिहीन सुकुम्वासीलाई पर्याप्त समय दिएर वैकल्पिक आवासको व्यवस्था गर्न, तथा प्रभावित बालबालिका, सुत्केरी महिला, वृद्धवृद्धा र अशक्त व्यक्तिहरूको उपचारको व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरिएको छ।













प्रतिक्रिया दिनुहोस्