जनता टाइम्स

२० बैशाख २०८३, आईतवार ०९:१२

असुरक्षा र दबाबका बिच पनि सत्यको पक्षमा उभिने सञ्चारकर्मी प्रति सम्मान : गगन थापा 


काठमाडौं, वैशाख २० । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वतन्त्र र निर्भय प्रेस लोकतन्त्रको आधारस्तम्भ भएको बताउनुभएको छ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चारकर्मीहरूलाई शुभकामना व्यक्त गर्दै थापाले बदलिँदो समयमा सूचना सङ्कलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्नुभएको छ। उहाँले कतिपय अवस्थामा देखिने असुरक्षा र दबाबका बिच पनि सत्यको पक्षमा उभिने सञ्चारकर्मीप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ।  ‘लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो तर आजको बदलिँदो समयमा सूचना सङ्कलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको छ, कतिपय अवस्थामा देखिने असुरक्षा र दबाबका बिच पनि सत्यको पक्षमा उभिनुहुने सञ्चारकर्मी साथीहरूमा हार्दिक सम्मान !’, उहाँले भन्नुभएको छ ।

उहाँले प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाविरुद्ध नभई नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि भएको स्पष्ट पार्नुभएको छ। सत्य लेखेकै आधारमा कसैले पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको दायित्व भएको उहाँको भनाइ छ। ‘प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको विरुद्ध होइन, यो त नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि हो, सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो, सम्पूर्ण सञ्चारकर्मी साथीहरूमा ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ को हार्दिक शुभकामना’, सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ ।