काठमाडौं, वैशाख २० । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँको बानेश्वरदेखि माइतीघरसम्म प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघकाे आयोजनामा भएको कार्यक्रममा नेपालका विभिन्न सञ्चार माध्यम तथा सम्बद्ध संघ–संस्थामा कार्यरत सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनका पक्षमा ऐक्यबद्धता जनाएका थिए।
सन् १९९१ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा आयोजित पत्रकार सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो। सोही घोषणापत्रको सम्मानमा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने निर्णय गरेको हो।
आज विश्वभर प्रेस स्वतन्त्रताको महत्त्वका विषयमा विभिन्न कार्यक्रम तथा छलफलहरू भइरहेका छन्। नेपालमा पनि यस अवसरमा विविध कार्यक्रम आयोजना गरी प्रेस स्वतन्त्रताको आवश्यकता र चुनौतीबारे चर्चा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्