जनता टाइम्स

२० बैशाख २०८३, आईतवार १०:१८

छिटो र प्रभावकारी कामका लागि अध्यादेश ल्याइएको हो : साेविता गाैतम 


काठमाडौं, वैशाख २० । कानुन मन्त्री  सोविता गौतमले सरकारले छिटो र प्रभावकारी रूपमा काम गर्न अध्यादेश ल्याएको बताउनुभएको छ।

सरकारले ६ वटा अध्यादेश ल्याएपछि आलोचना भइरहेका बेला उहाँले विधिको शासनअनुसार सरकारले सधैँ कानुनी प्रक्रियाभित्र रहेर काम गर्ने स्पष्ट पार्नुभएको छ। उहाँले वर्तमान सरकारले पनि संविधानले दिएको अधिकार प्रयोग गर्दै विधिभित्रै रहेर अध्यादेश जारी गरेको बताउनुभयाे । ‘कुनै कानुन आवश्यक भएको अवस्थामा सरकारलाई काम गर्न कठिनाइ हुने हुन्छ, त्यस्तो अवस्थामा संविधानले नै अध्यादेश ल्याउने अधिकार दिएको छ,’ उहाँले भन्नुभएको छ।

सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सन्देश जारी गर्दै उहाँले सरकारले जनताका मुद्दा छिटो समाधान गर्न तथा कार्यसम्पादन प्रभावकारी बनाउन अध्यादेश ल्याएको उल्लेख गर्नुभएको छ। ‘यो राम्रो काम गर्न, छिटो काम गर्न र सरकारलाई अझ प्रभावकारी रूपमा जनताका समस्या समाधान गर्न ल्याइएको हो,’ उहाँले भन्नुभयाे ।

उहाँले संसदमार्फत ‘फास्ट ट्र्याक’ प्रक्रियाबाट कानुन बनाउँदा पनि कम्तीमा तीनदेखि चार महिना लाग्न सक्ने भएकाले तत्काल आवश्यक कामका लागि अध्यादेशको विकल्प रोजिएको स्पष्ट पार्नुभयाे ।

विगतमा केही सरकारले स्वार्थ पूर्तिका लागि अध्यादेश ल्याउने गरेको उल्लेख गर्दै उहाँले यसपटक भने तीव्र रूपमा काम गर्नका लागि मात्र अध्यादेश जारी गरिएको दाबी गर्नुभयाे। साथै, वर्तमान सरकारसँग करिब दुईतिहाइ बहुमत रहेकाले कुनै पनि काम लुकाएर वा गैरकानुनी ढङ्गले गर्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयाे ।