जनता टाइम्स

२० बैशाख २०८३, आईतवार १५:२८

दुवै छोरा गुमाएका बाबुआमाले दिए हत्यारा समात्ने प्रहरी जवानलाई नगद पुरस्कार


काठमाडौं, बैशाख २० । प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिने प्रहरी जवान शाहना बोहरालाई पीडित परिवारले सम्मान गरेको छ ।

गत बर्षको चैत २५ गते सिर्जन नेम्वाङ र सुमित नेम्वाङको हत्या गरी हतियारसहित भागिरहेका अभियुक्तहरूलाई लखेटेर एक्लै नियन्त्रणमा लिन सफल भएकी प्रहरी जवान बोहोरालाई मृतक दाजुभाइका आमाबुवाले नगद पुरस्कारसहित सम्मान गर्नुभएको हो ।

प्रहरी प्रभाग मंगलबजारमा कार्यरत बोहराको अत्यन्तै साहसिक कार्यको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी परिसर ललितपुरको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरी मृतकका बुवाआमाबाटै नगदसहित सम्मान गरिएको हो ।

आफ्ना दुई छोरा गुमाएका आमाबुवाले हत्यारालाई ज्यानको बाजी थापेर पक्रन सफल भएकोमा बोहराप्रति कृतज्ञता प्रकट गर्दै ३५ हजार १०५ रुपैयाँ नगद प्रदान गर्नुभयो । परिसरको सभाहलमा भएको उक्त कार्यक्रममा प्रहरीका वरिष्ठ अधिकारीहरूसँगै मृतकका आफन्तहरूको उपस्थिति रहेको थियो । बोहोराको सो कार्यले अपराधमा संलग्न भएका जोगिन नपाएकोले आफूहरू खुसी भएको मृतकका बुवाआमाले बताउनु भयो ।