जनता टाइम्स

२० बैशाख २०८३, आईतवार २०:१५

रवि लामिछानेकाे आराेप : अव्यवस्थित बस्तीका नाममा स्थानीय तहले त्रास फैलाए


काठमाडौं, वैशाख २० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अव्यवस्थित तथा असुरक्षित बस्ती व्यवस्थापनका नाममा स्थानीय तहहरूले अनावश्यक त्रास फैलाएको आराेप लगाउनु भएकाे छ ।

लामिछानेले सरकारले असुरक्षित बस्ती व्यवस्थापन गर्न खोजेको भए पनि त्यसको गलत सन्देश प्रवाह गरिएको बताउनुभयो। उहाँले केन्द्र सरकारले असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने नीति लिएको भए पनि स्थानीय निकायहरूले त्यसको आडमा अन्य गतिविधि गरिरहेको आरोप लगाउनुभयो। ‘अहिले सरकारले अव्यवस्थित मात्र होइन, असुरक्षित बसोबासीलाई सुरक्षित स्थानमा राख्न कदम चालेको हो,’ उहाँले भन्नुभयो, ‘तर यही बेलामा देशभरका विभिन्न स्थानीय निकायले रास्वपाको काँधमा बन्दुक राखेर अव्यवस्थित बसोबासीलाई त्रास देखाउने काम गरिरहेका छन्, त्यसमा हाम्रो घोर आपत्ति छ।’

लामिछानेले लालपूर्जा नभएका वास्तविक भूमिहीन सुकुम्बासीको हकमा शक्तिशाली प्राधिकरण गठन गरी त्यसको निर्णय कार्यान्वयन गरिनुपर्ने धारणा राख्नुभयो। उहाँले केन्द्र सरकारको निर्णयअनुसार असुरक्षित स्थानमा बसेकालाई मात्रै स्थानान्तरण गरिनुपर्ने स्पष्ट पार्नुभयो।

केही स्थानीय तहहरूले सडक विस्तारलगायतका कामलाई पनि यही विषयसँग जोडेर नागरिकलाई ‘आजै, भोलि नै उठाइन्छ’ भन्ने त्रास देखाइरहेका उहाँले बताउनुभयेा । ‘सरकारले त्यस्तो निर्णय गरेको छैन,’ उहाँले भन्नुभयो, ‘बरु तपाईंहरूको भविष्य सुनिश्चित गर्ने उद्देश्यले केन्द्र सरकारले नीति ल्याएको हो।’

लामिछानेले असुरक्षित बसोबासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कामलाई संवेदनशील ढंगले कार्यान्वयन गर्नुपर्ने बताउनुभयाे । सरकारले सुकुम्वासी बस्ती ठाउएकाेमा चर्काे आलाेचना हुन लागेपछि लामिछानेले त्यसकाे दाेष स्थानीय तहलाई थाेपर्ने प्रयास गर्नु भएकाे छ ।