जनता टाइम्स

२१ बैशाख २०८३, सोमबार ०७:३६

डोजर चलाउनु अघि प्राधिकरण गठन गर्नुपर्थ्यो, आफ्नै सांसदको घर भत्काउन नैतिक दबाब बढेपछि प्राधिकरण भन्न थाले : हर्क साम्पाङ


काठमाडौं, वैशाख २१। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्वासी व्यवस्थापनको विषयमा बालेन नेतृत्वको सरकारप्रति कडा टिप्पणी गर्नुभएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुकुम्वासी बस्तीमा डोजर चलाउनुभन्दा अघि नै स्पष्ट नीतिगत संरचना, जस्तै प्राधिकरण वा आयोग गठन गर्नुपर्ने बताउनुभएको हो। उहाँका अनुसार समस्या समाधानका लागि दीर्घकालीन उपाय नअपनाई प्रत्यक्ष रूपमा संरचना भत्काउने कार्यले सामाजिक अन्याय बढाउने खतरा रहेको छ।

“सुकुम्वासीका घरमा डोजर चलाउनु अघि प्राधिकरणको कुरा ल्याउनुपर्थ्यो,” भन्दै उहाँले सरकारको धारणा परिस्थितिजन्य दबाबपछि मात्रै परिवर्तन भएको उल्लेख गर्नुभएको छ। आफ्नै सांसदहरूको घर भत्काउनु पर्ने अवस्था देखिएपछि मात्र प्राधिकरण वा आयोग गठनको विषय उठाइएको उहाँको दाबी छ।

सुकुम्वासी बस्ती उठाउने नाममा सर्वसाधारणका घर भत्काइरहँदा रास्वपाका सांसदहरूका घर समेत त्यस्ता भेटिएका छन् । ती घरमा डोजर पुगे पछि भने भत्काउन रोकिएको छ । यसको चौतर्फी विरोध भए पछि सरकारलाई शक्तिशाली आयोग बनाउन रास्वपा सचिवालय बैठकले सरकारलाई सिफारिस गरेको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ : ‘रास्वपा सरकारले सुकुम्वासीमा डोजर चलाउनु अघि प्राधिकरणको कुरा ल्याउनु पर्थ्यो ! अब आफ्नै सांसदहरूको पनि घर भत्काउन नैतिक दबाब बढे पछि प्राधिकरण या आयोग भन्न थाले ।’