जनता टाइम्स

२१ बैशाख २०८३, सोमबार ११:५५

रोशी खोलामा बाढीपछि बीपी राजमार्ग अवरुद्ध, सवारी आवागमन बन्द


काठमाडौं, वैशाख २१ । रोशी खोलामा आएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ। आज बिहानबाट खोलामा पानीको सतह बढेकाे कारण  सडकमा जोखिम बढ्दै गएपछि आवागमन रोकिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ। प्रहरीका अनुसार कुषादेवी क्षेत्रमा लगातार वर्षा भएपछि रोशी खोलामा पानीको सतह बढेको हो।

बाढीका कारण बिपी राजमार्ग बगाएपछि डाइभर्सन निर्माण गरी अस्थायी रूपमा यातायात सञ्चालन गरिएको भए पनि खोलामा सामान्य बाढी आउनेबित्तिकै बारम्बार सडक अवरुद्ध हुने समस्या देखिएको छ। स्थायी सडक निर्माणकाे काम भइरहेकाे भए पनि साे पुरा नभएकाे कारण खाेलाबाटै नै यातायात साधन सञ्चालन हुँदै आएका छन् ।

प्रहरीले खोलाको बहाव सामान्य भई सडकमा कुनै अवरोध नरहेपछि मात्रै अर्को सूचना जारी गरी बाटो सुचारु गरिने जनाएको छ। यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र अनावश्यक जोखिम नलिन आग्रह गरिएको छ।

सडक अवरुद्ध भएपछि काठमाडौंबाट पूर्वतर्फ जाने सवारी साधनलाई काभ्रेको भकुण्डेमा रोकिएको छ भने पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका सवारीलाई सिन्धुलीको नेपालथोकमा होल्ड गरिएको प्रहरीले जनाएको छ।

थप जानकारीका लागि १०० र १०३ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।