जनता टाइम्स

२१ बैशाख २०८३, सोमबार १४:२४

राष्ट्रपतिले सरकारको सबै कुरा मान्दै जाने हो भने देशै नरहने अवस्था आउँछ : हर्क साम्पाङ  


काठमाडौं, वैशाख २१ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारका निर्णयहरू अन्धाधुन्ध स्वीकार नगर्न राष्ट्रपतिलाई आग्रह गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले राष्ट्रपति समक्ष सरकारका सबै सिफारिस स्वीकार गर्दै जाने हो भने देश नै संकटमा पर्न सक्ने चेतावनी दिनुभएको छ। ‘राष्ट्रपतिज्यू, सरकारको सबै कुरा मान्दै जाने हो भने देशै नरहने अवस्था आउनेछ,’ उहाँले लेख्नुभएको छ।

उहाँले संसद्को भूमिका कमजोर पार्ने कुनै पनि कदमप्रति सचेत रहन राष्ट्रपतिलाई आग्रह गर्दै ‘संसद्लाई सार्वभौम बनाइराख्न तपाईँको भूमिका चाहिन्छ, खबरदारी है !’ भन्नुभएको छ।

अध्यक्ष साम्पाङको यो अभिव्यक्ति पछिल्लो समय सरकार र राष्ट्रपतिको सम्बन्ध, विशेष गरी अध्यादेश स्वीकृतिको विषयलाई लिएर बढ्दो बहसका बिच आएको हो। राजनीतिक वृत्तमा कार्यपालिका र राष्ट्रपतिको भूमिकाबारे प्रश्न उठिरहेका बेला उहाँको धारणा सार्वजनिक भएको छ।

हालै सरकारले विवादित अध्यादेश पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्ने गरे पछि साम्पाङको यो टिप्पणी आएको हो। लोकतान्त्रिक व्यवस्थामा संसद्को सर्वोच्चता कायम राख्न राष्ट्रपतिको संवैधानिक भूमिका सन्तुलित र जिम्मेवार हुनुपर्ने उहाँको धारणा छ।