जनता टाइम्स

२१ बैशाख २०८३, सोमबार १७:४४

आफ्नो घर र कार्यालयमा छापा मारेको प्रति वाग्मती प्रदेशका मुख्यमन्त्री बानियाँकाे आपत्ति  


हेटौँडा,  वैशाख २१ । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो घर र कार्यालयमा गरेको छापामारीप्रति आपत्ति जनाउँदै अनुसन्धानमा भने पूर्ण सहयोग रहने स्पष्ट पार्नुभएको छ।

आज जारी प्रेस विज्ञप्तिमार्फत उहाँले हेटौँडा र काठमाडौंस्थित आफ्ना निवास तथा विगतमा संलग्न रहेको ‘बानियाँ निर्माण सेवा’को कार्यालयमा गरिएको छापामारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको हो। विभागले ती स्थानबाट विभिन्न कागजात नियन्त्रणमा लिएको उल्लेख गरिएको छ।

मुख्यमन्त्री बानियाँले आफू नेतृत्वमा आएपछि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राख्दै काम गर्दै आएको दाबी गर्नुभएको छ। उहाँका अनुसार प्रदेश सरकारको खर्चमा कटौती, आर्थिक मितव्ययिता तथा आवश्यकता र औचित्यतामा आधारित योजना तथा बजेट कार्यान्वयनमा जोड दिइएको छ।

तीन तहको सरकारबीच समन्वय, सहअस्तित्व र सहकार्य आवश्यक हुने उल्लेख गर्दै उहाँले सङ्घीय सरकारले गर्ने सकारात्मक काममा प्रदेश सरकारको सधैँ साथ रहने बताउनुभएको छ। साथै, राज्यका जुनसुकै निकायले सुशासनका लागि गर्ने अनुसन्धान र छानबिनलाई आफूले सकारात्मक रूपमा लिएको स्पष्ट पार्नुभएको छ।

यद्यपि, सञ्चार माध्यममा आएका समाचारअनुसार गरिएको छापामारीले आफ्नो व्यक्तिगत तथा सामाजिक चरित्रमा आघात पुगेको उहाँको भनाइ छ। “राज्यका निकायले अनुरोध गर्दा म भौतिक रूपमा उपस्थित हुन तयार रहेको अवस्थामा अकस्मात् गरिएको छापामारीप्रति आपत्ति जनाउँछु,” विज्ञप्तिमा उल्लेख छ।

उहाँले संवैधानिक र कानुनी दायराभित्र रहेर हुने सबै अनुसन्धानमा आफ्नो पूर्ण समर्थन रहने दोहोर्‍याउँदै वाग्मती प्रदेशवासी तथा शुभेच्छुकहरूलाई भ्रमित वा चिन्तित नहुन आग्रह गर्नुभएको छ। “म यहाँहरूको सेवामा सधैँ तत्पर रहनेछु,” उहाँले भन्नुभएको छ।